
रञ्जन अधिकारी पोखरा, २३ साउन / पोखराका नेवार समुदायले यस वर्ष पनि गाईजात्राको सन्दर्भमा गाईजात्रा महोत्सव र तायः मचाः नृत्य प्रतियोगिता गर्ने भएको छ । नेवा खलः कास्कीको आव्हान र भीमसेन टोल सुधार समिति भीमसेन टोलको आयोजनामा साउन ३० र ३१ गते महोत्सव हुने भएको छ ।
समितिले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी पहिलो दिन विविध साँस्कृतिक कार्यक्रम र दोस्रो दिन तायाः मचाः नृत्य प्रतियोगिता हुने जानकारी दिएको हो । भीमसेन टोल सुधार समितिका अध्यक्ष शुरेश बजिमयले महोत्सवमा फुड फेष्टीवल, नेवारी संस्कृति झल्काउने नृत्य, बासुरी वादन, लाखे नाच, घोडा नाच, चौरी नाच, जनजाती नाच तथा यूवाहरुलाई आकर्षित गर्न पोखरेली व्याण्ड डिमर्चा, मौलीक धुन प्रस्तुत गर्ने लक्ष्य व्याण्ड, स्क्याच ब्याण्डको लाईभ प्रस्तुती रहने जानकारी दिए । दुई दिन भैरवटोल क्षेत्र सडक अवरुद्ध हुनेछ ।
नेवाः सँस्कृति संरक्षणका लागि नयाँ पुस्तालाई सहभागि गराउने उद्धेश्यले गाईजात्रा महोत्सव गर्न लागिएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए । तायाः मचाः नृत्य प्रतियोगितामा २४ टोलको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्धितियलाई १० हजार, तृतियलाई ५ हजार, सान्त्वना हुने दुई टिमलाई जनही २ हजार ५ सय, प्रदान गरिनेछ भने उत्कृष्ट बाद्यबादन, उत्कृष्ट भेषभुषा, उत्कृष्ट जोकर, ख्याली बजाउनेलाई एक हजार प्रदान गरिने बजिमयले जानकारी दिए । उनका अनुसार पोखरा बाहिरबाट प्रतियोगितामा सहभागि हुने टिमलाई प्रोत्साहन स्वरुप २ हजार प्रदान गरिनेछ ।
पालिखेको अनुसार प्रतियोगितामा प्रथम हुनेलाई पिनगुइन मिनरल वाटरले १० हजारको खसी समेत प्रदान गर्ने भएको छ । नेवाः खलको आव्हानमा प्रत्येक वर्ष छुट्टाछुट्टै टोलमा तायाः मचाः नृत्य प्रतियोगिता गरिदँै आएको छ ।
प्रताप मल्लको छोरा चक्रवतेन्द्र मल्लको निधनले शोकमा रहेकी रानीलाई मन बुझाउन ताय ः मचा नृत्य सुरु भएको थियो । पोखरामा नेवार समुदायको बसोबास भएदेखि नै गाइजात्रा नृत्य सुरु भएपनि २०२७ सालमा प्रतियोगिताका रुपमा भएको थियो । त्यसपछि पुनः २०४९ सालमा प्रतियोगिता भएको र २०५५ सालदेखि निरन्तर हुँदै आएको छ । साढे दुई सय बर्ष अघिदेखि नेवारी समुदायमा नाचिने तायःमचाः नृत्यमा पुरुष नै परी बनेर नाच्दै आएकोमा दुई वर्षअघिदेखि महिला पनि परीको भेषमा प्रतिष्पर्धामा सहभागी हुँदै आएका छन् भने बाद्यबादनमा पनि सहभागि भएका छन् । तायः मचाः मा जोकर र चार जना परीले नृत्य गर्दछन् ।
तयाः मचा नाच पोखरामा मात्र प्रतियोगिताको रुपमा आयोजना हुँदै आएको र नेवा सँस्कृति भएपनि विभिन्न जात जातिलाई प्रतियोगिता सहभागि गराउने गरिएको पालिखेले बताए । एक वर्ष भित्र दिवंगत हुनेहरुको मोक्ष प्राप्ति, सम्मान र सम्झनाका लागि नेवार समुदायले गाईजात्रा मनाउने गर्दछन् । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सञ्जय मल्लले गरेका थिए ।
