
माधव भुषाल पोखरा, २३ असार । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले मुलुकलाई तीन वर्ष भित्र लोडसेडिङ मुक्त बनाउन नीजि क्षेत्र क्रियाशील रहेको जनाएका छन् । त्यसको लागि महासंघ योजनावद्धरुपले अगाडि बढेको पनि उनले बताए ।
पश्चिमाञ्चल क्षेत्रीय उद्योग बाणिज्य संघको शुक्रबार पोखरामा भएको वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले व्यवसायिक वातावरण निर्माणका लागि आवश्यक पर्ने ऐन नियमहरु निर्माणको लागि आफूहरु लागिपरेको जनाउँदै श्रम ऐन लगायतका ऐनहरु सरकारले छिट्टै पारित गर्ने दाबी पनि गरे । ‘सरकारले ठूला ब्यवसायीलाई सम्पति शुद्धिकरण र साना ब्यवसायीलाई मिसम्याचको समस्याले तर्साएको छ ।’ उनले भने ‘उद्योग बाणिज्य महासंघ खुद्रे संस्था होईन ।’ करको दर, सिण्डिकेटजस्ता विषयमा ब्यवसायीहरुको एउटै मत हुन नसकेकोप्रति संकेत गर्दै उनले यसकै कारण समस्या समाधान हुन नसकेको गुनासो गरे ।
पूर्व अध्यक्ष चण्डिराज ढकालले क्षेत्रको बिकास एवं ब्यवसायीको संरक्षणको लागि नै क्षेत्रीय वाणिज्य संघ स्थापना भएको बताए । संघीय संरचनामा आउने चुनौतिको सामना गर्न निजी क्षेत्र अहिलेदेखि नै तयार रहनुपर्नेमा जोड दिँदै उनले पश्मिाञ्चल क्षेत्रमा अरु क्षेत्रमा भन्दा बढी सम्भावना भएर पनि त्यस अनुसार आफूलाइ परिमार्जन गर्न नसकेको बताए । ‘समय अनुसार परिमार्जित गर्न सक्नुपर्छ ।’ उनले भने– ‘त्यसो हुन सकेन भने संघका योजनाहरु तुहिने अवस्थामा पुग्छन् ।’
महासंघका उपाध्यक्ष किशोर प्रधानले बुद्ध जन्मभूमि रहेको पश्चिमाञ्चलले यसबाट ठूलो लाभ लिनसक्नुपर्ने बताए ।
महसंघकी केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रकी सभापति भवानी राणाले संघ जुनसुकै कार्यमा पनि बिकेन्द्रीकरणमा अडिग रही अगाडी बढ्ने बताईन् । ‘प्रजातन्त्र भनेकै बिकेन्द्रीकरण हो ।’ उनले भनिन्– ‘महासंघ यसमा सधैं अडिग रहनेछ ।’ उनले एक जिल्ला एक उत्पादनलाइ दिगो रुपमा कार्यान्वयन गर्न सके देशको आर्थिक अवस्थामा सुधार हुने बताइन् ।
महासंघ केन्द्रिय सदस्य एवं गण्डकी प्रतिनिधि दिपक लम्सालले महासंघले केन्द्रीय सदस्यहरुको आवाज सुन्नुपर्ने र जिल्ला तथा नगर उद्योग बाणिज्य संघहरुलाई बलियो बनाउनुपर्नेमा जोड दिए पश्मिाञ्चल क्षेत्रमा पर्यटकिय नगरी पोखरा, गौतम बुद्धको जन्मस्थल लुम्बिनी लगायतका महत्वपूर्ण क्षेत्र रहेकाले यस क्षेत्रलाई आर्थिक रुपमा सबल क्षेत्र बनाउन महत्वपूर्ण ठाउँहरुलाइ संरक्षण गर्दै पर्यटनको बिकासमा लाग्न सुझाए ।
क्षेत्रीय उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष तथा बार्षिक साधारणसभाको आतिथ्यता प्रदान गर्ने पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिबबहादुर कोइरालाले मिसम्याचको समस्या समाधानको लागि समय बढाएकोमा खुसी व्यक्त गर्दै तोकिएको डेढ प्रतिशत बिलम्ब शुल्क मिनाहाको माग गरे ।
तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष देवकुमार श्रेष्ठले बस्तु खरिद र बिक्रीले मात्र देशको विकास नहुने भएकोले विकासका लागि पोखरा र लुम्बिनी लगायत देशका अन्य ठाउँमा विमानस्थल निर्माण हुनुपर्नेमा जोड दिए ।
पश्मिाञ्चल क्षेत्रिय उद्योग बाणिज्य संघका अध्यक्ष सूर्यप्रसाद मर्सानीको अधयक्षतामा भएको साधारणसभामा संघका प्रथम उपाध्यक्ष एवं पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष सञ्जीब बहादुर कोइरालाले स्वागत र पश्मिाञ्चल क्षेत्रिय उद्योग बाणिज्य संघका महासचिव नारायण कोइरालाले कार्यक्रमको सञ्चालन गरेका थिए । क्षेत्रीय उद्योग बाणिज्य संघका महासचिव कोइरालाका अनुसार साधारणसभाले नया नेतृत्व पनि चयन गर्नेछ । पश्चिमाञ्चल क्षेत्रीय उद्योग बाणिज्य संघमा गण्डकी, धौलागिरी र लुम्बिनीमा रहेका उद्योग बाणिज्य संघहरु समेटिएका छन् ।
