रेम बिक पोखरा, २६ साउन । सामसुङ ग्यालेक्सी ग्राण्ड निओ विग आईकनको विजेताले बलिउड सुरपस्टार शाहरुख खानसंगै स्टेज शेयर गर्ने अवसर पाउने भएका छन् । विजेताको लागि यो अवसर कान्साई नेरोल्याक पेन्ट्सले उपलब्ध गराउने भएको हो । कान्साई नेरोल्याक पेन्ट्सका लागि नेपालका कन्ट्री हेड सत्यप्रकाशले यो कुरालाई पुष्टी गरेका छन् ।
कान्साई नेरोल्याक पेन्ट्सका नेपाल कन्ट्री हेड सत्यप्रकाशले उत्कृष्ट पाँचको एलिमिनेशन राउण्डमा सहभागिता जनाउँदै यस्तो घोषणा गरेका हुन् । ‘नेपालका सिमिति व्यक्तिहरुका बिचमा मात्रै हुन लागेको कार्यक्रम डान्स विथ डनको क्रममा विग आईकनको विजेताले पनि शाहरुख खानसंगै एउटै स्टेज शेयर गरेर आफ्नो प्रस्तुती राख्न पाउनेछन् ।’ सत्यप्रकाशले भने–‘यो विग आईकनको विजेताको लागि अर्को एउटा ठुलो उपलब्धि बन्न सक्छ ।’
कान्साई नेरोल्याक पेन्ट्सले आफ्नो प्रोडक्टको ब्राण्डिङका लागि नेपालमा शाहरुख खानलाई लिएर एउटा ग्राण्ड ईभेन्ट ‘डान्स विद डन’ आयोजना गर्दैछ । शाहरुख खान कान्साई नेरोल्याक पेन्ट्सको ब्राण्ड एम्बेसडर पनि हुन् । ‘डान्स विद डन’ प्रोग्राम दशैँ तिहार पछि हुने समेत उनले जानकारी दिए । यो अफर अन्तरगत नेरोल्याक पेन्ट्सले २५ हजार रुपैँया बराबरको पेन्ट्स खरिदमा एउटा स्क्रयाच कार्ड ग्राहकहरुले पाउनेछन् । कार्ड स्क्रयाच गरि शाहरुखसंगै नाच्न पाउने अवसरसंगै ग्राहकहरुले एलईडी टिभि, फ्रिज, मोबाईल, घडी तथा शाहरुख खानको हस्ताक्षर भएो पेनहरु प्राप्त गर्नेछन् ।
विग आईकन विजेताले बलिउड सुपरस्टारसंग एउटै स्टेज शेयर गर्न पाउने भएपछि विग एफएमले खुशि व्यक्त गरेको छ । ‘यो हाम्रो लागि पनि निकै ठुलो अवसर हो ।’ विग एफएमका अध्यक्ष महेश भण्डारीले भने–‘विग आईकनको लागि पनि यो एउटा ऐतिहासिक कुरा हुनेछ ।’ विग आईकन विजेताले एक लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटर र एक हप्ते बेलायतको साँगीतिक भ्रमणको प्याकेज पनि पाएका छन् ।
विग आईकनमा हाल उत्कृष्ट चार प्रतिस्पर्धीहरु मात्रै छन् । उत्कृष्ट चार प्रतियोगी ल्हामो डोल्कर, कुन्साङ गुरुङ, सन्दिप ढुंगाना र राम लिम्बु छन् । प्रतियोगितामा संगीतकर्मीद्वय श्यामसुङ तामाङ र सुनील थापा निर्णायकको रुपमा रहेका छन् । प्रतियोगीहरु विग आईकनको उपाधी आफ्नो कब्जामा पार्नका लागि आफुलाई निखारिरहेका छन् भने एसएमएस भोटिङका लागि क्याम्पेनिङ समेत गरिरहेका छन् । ग्राण्ड फिनाले भदौको सात गने पोखरा सभागृहमा हुने विग एफएमले जनाएको छ । ग्राण्ड फिनालेमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य प्रमुख अतिथिको रुपमा आउने एफएमले बताएको छ ।
