रञ्जन अधिकारी पोखरा, ३१ साउन । अन्तर समाज महासंघ राष्ट्रिय समिति, नेपालको तेस्रो महाधिवेशनले अध्यक्षमा दिपेन्द्र राईलाई चयन गरेको छ । पूर्वाञ्चल सेवा समाजबाट प्रतिनिधित्व गरेका राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको प्रथम उपाध्यक्षमा प्रसाद बुढामगर (रोल्पा), द्वितीय उपाध्यक्षमा मञ्जु पौडेल (अर्घाखाँची), तृतीय उपाध्यक्षमा बलराम खतिवडा (धादिङ), महासचिवमा भानुभक्त भण्डारी (गुल्मी), सचिवमा निर्मल सापकोटा (चितवन), कोषाध्यक्षमा नारायण पौडेल (पाल्पा) र सहकोषाध्यक्षमा लालीमाया शर्मा (स्याङ्जा) लाई चयन गरेको छ । यस्तै, सदस्यहरुमा दधिराम खनाल, शान्त गिरी, शोभाकर थापा, गिरीराज के.सी., विजयकुमार प्रधान, प्रेमडोमा शेर्पा, बलराम लामा, ईश्वरप्रसाद सुवेदी, दिनेशराज घिमिरे, चोकबहादुर भण्डारी (विमल), दिनेश थापालाई सर्वसम्मत चयन गरेको सदस्य केदार धमलाले जानकारी दिए ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै पुनरावेदन अदालतका न्यायाधीश प्रभा बस्नेतले मुलुकमा विधिको शासन धर्मराएको अवस्थामा समाजका अगुवाहरुको भूमिका प्रभावकारी रहने बताईन् । जिल्लाबासीलाई एकीकृत गर्दै समाजमा आबद्ध गराएर दुःखमा एकअर्कामा सहयोग गर्दै आएकोमा उनले खुशी समेत प्रकट गरिन् ।
समितिका अध्यक्ष नीलकण्ठ शर्माको अध्यक्षतामा सम्पन्न अधिवेशनमा महासचिव शिवलाल उपाध्यायले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष मन्जु पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा १९ वटा समाज र ४२ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । धादिङ पोखरा सम्पर्क समितिको अगुवाईमा स्थापना भएको महासंघ अन्तर्गत १९ समाज रहेका छन् ।
कार्यक्रममा संस्थापक अध्यक्ष रुद्रप्रसाद खनाल, महासचिव महेन्द्र रिमाल, राजेशकुमार ठकुराठी लगायतले बोलेका थिए । समितिका प्रथम उपाध्यक्ष एवं अधिवेशन तयारी उपसमितिका संयोजक दिपेन्द्र राईले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव शिवलाल उपाध्यायले गरेका थिए । निर्वाचन समितिमा संयोजक देवीप्रसाद अर्चाल, सदस्यद्वय प्रकाश पौडेल र टंक खनाल रहेका थिए ।
