मलेसियामा भएको एसीसी यू–१६ प्रिमियर लिग क्रिकेटमा होनहार खेलाडी घोषित रूपन्देहीको तिलोत्तमानगर–८, शंकरनगरका १३ वर्षीय स्पिनर अनिल खरेललाई उनी पढिरहेको स्कुलले निःशुल्क पढाउने भएको छ ।
कक्षा ८ मा अध्ययनरत उनलाई एपेक्स स्कुलले कक्षा १२ सम्म पूर्ण छात्रवृत्तिमा पढाउने घोषणा विद्यालयका प्राचार्य दीपक गौतम र अध्यक्ष शिव भट्टराईले संयुक्त विज्ञप्तिमार्फत जनाएका छन् । साथै, नेपाली टिमका मुख्य प्रशिक्षक बनेका बसन्त शाही ठकुरीलाई पनि विद्यालयले विशेष पुरस्कार उपलव्ध गराउने घोषणा गरेको छ ।
प्रशिक्षक ठकुरी पनि एपेक्स स्कुलकै क्रिकेट प्रशिक्षक हुन् । उनै ठकुरीले अनिललाई प्रतिभावान देखेर टिममा राख्न सकिने भन्दै सिफारिस गरेका थिए ।
नेपाललाई यू–१६ क्रिकेटमा पहिलो उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका खरेललाई एसीसीले बुधबार प्रतियोगिताको होनहार खेलाडी (मोस्ट प्रोमिसिङ प्लेयर) घोषणा गरेको थियो । विद्यालयमा क्रिकेटका लागि उचित वातावरण बनाइदिने र थप हौसलाका लागि निःशुल्क पढाउने निर्णय गरिएको प्राचार्य गौतमले बताए ।
देब्रेहाते स्पिनर खरेलले आइतबार ओमनविरुद्ध ६ विकेट लिएर सनसनी मच्चाएका थिए । उत्कृष्ट बलिङ गरेका उनले ६ ओभरमा १६ रन खर्चिर ओमनका ६ जना ब्याट्सम्यानलाई निराश बनाएका थिए ।
