
भदौ ९ – दर्शकले हानेको ढुंगा लागेर अल्जेरियामा क्यामरुनका एक फुटबल खेलाडीको ज्यान गएको छ ।
अल्जेरियामा भएको खेलका क्रममा दर्शकको ढुंगा प्रहारबाट २४ वर्षका खेलाडी अलवर्ट एवोसको ज्यान गएको बिबिसीले जनाएको छ । युएसएम अल्जर विरुद्धको खेलमा जेएस काबेलीका स्ट्राइकरले गोल गरेपछि दर्शकहरुले मैदानमा फालेको वस्तुले लागेर उनको टाउकोमा चोट लागेको थियो ।
अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको हो । दर्शकले फालेको वस्ते के थियो भन्ने स्पष्ट नभएपनि अल्जेरियाको एक पत्रिकाले घरेलु दर्शकले रिसाएर ढुंगा प्रहार गरेको बताएको छ । अल्जेरिया सरकारले घटनाको छानबिन गर्ने जनाएको छ ।
अल्जेरियन लिग २०१३—०१४ मा उनले सर्वाधिक १७ गोल गरेका थिए । घटनापछि स्टेडियम अनिश्चित कालका लागि बन्द गरिएको छ भने अल्जेरियन फुटबल लिगले आकश्मिक बैठक बोलाएको छ ।
