पोखरा, १० भदौ / नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखराको लामाचौरमा मंगलबारदेखि हरितालिका तीज महोत्सव–२०७१ एवं राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । नेपाली सँस्कृतिको संरक्षण तथा प्रबद्र्धन गर्दै प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले संस्थाको १८ औं वार्षिकोत्सवको अवसर पारी तीज महोत्सव सुरु भएको हो । महोत्सव स्थानीय इन्द्रराज्य लक्ष्मी उच्चमाविको प्राङ्गणमा ३ दिनसम्म चल्नेछ ।
अन्य मेला महोत्सवभन्दा फरक खालको यो महोत्सवलाई सफल पार्न स्थानीय विभिन्न संघसंस्था तथा व्यक्तिहरु लागिपरेका छन् । हरेक वर्ष तीजको अवसरमा महोत्सव गरी संकलित रकम संस्थाले विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आएको संस्थाका अध्यक्ष बुद्धिबहादुर खत्री क्षत्रीले जनाए ।
महोत्सवको एक समारोहबीच पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश थपलियाले उद्घाटन गरे । यस क्षेत्रमा अघिल्लो दिनमात्र क्षेत्रीय प्रशासकको पदभार ग्रहण गरेका थपलियाले आफूले यस क्षेत्रका साथै नवआदर्श सामुदायिक विकास समाजको हितमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले राज्यको श्रोत र साधनको सही सदूपयोग गर्दै सामाजिक क्रियाकलाप अघि बढाउन र विकास निर्माणमा जुट्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । उनले विभिन्न सामाजिक संस्थाहरु सरकारी क्रियाकलापसँग हातेमालो गर्दै अघि बढेमा उपर्युक्त नतिजा निकाल्न सहज हुने पनि बताए । पोखराको सुन्दरताको व्याख्या गर्दै उनले यस क्षेत्रमा क्षेत्रीय प्रशासक भएर आउन पाउँदा आफू धन्य भएको उल्लेख गरे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर रावतले यस संस्थाले गरेको सामाजिक क्रियाकलापको प्रशंसा गर्दै सक्दो सहयोगको प्रतिबद्धता जनाए । संस्थाका अध्यक्ष बुद्धिबहादुर खत्री क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत स्वागत प्रथम उपाध्यक्ष शोभा केसी, संचालन सचिव लक्ष्मी पाण्डेले गरेका थिए । समारोहमा सभासद शारदा पौडेललगायत विभिन्न संघसंस्थाका प्रतिनिधि उद्घाटन समारोहमा उपस्थित थिए ।
तीजको दिन हुने मुख्य समारोहमा प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेको उपस्थिति रहने आयोजकले जनाएको छ ।महोत्सवमा उपस्थित दर्शकका लागि कलाकारहरुले विभिन्न साँस्कृतिक कार्यक्रममार्फत् मनोरञ्जन दिने गरेका छन् । पहिलो दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष जीवन दाहाल, घनश्याम रिजाल, राजन कार्की, निशा पोखरेल, रतिमाया खड्का, सरस्वती लामिछानेलगायतले गीत प्रस्तुत गरेका थिए ।
महोत्सवको आकर्षणको रुपमा खुला तीज गीत प्रतियोगितालगायतका विभिन्न प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा १२ टिमले भाग लिएको निर्णायक समितिका संयोजक गायक पद्मराज ढकालले बताए । तीज गीतमा प्रथमलाई १५ हजार १०१, दोस्रोलाई १० हजार १०१, तेस्रोलाई ७ हजार १०१ तथा ५ समूहलाई ३ हजारसहित सान्त्वना पुरस्कार दिइने प्रचारसंयोजक संजयकुमार अधिकारीले बताए ।
नरबहादुर स्मेति सितेरियो कराँते प्रतियोगिता सुरु भएको छ भने अन्तरमावि लोकनृत्य प्रतियोगिता बुधबार सुरु हुनेछ । पत्रकार दौड तीजको दिन हुनेछ । आयोजकले महिला म्यूजिक चियर दौड प्रतियोगिता पनि आयोजना गरेको छ ।
लोकनृत्यमा प्रथमलाई १५ हजार १०१, दोस्रोलाई १० हजार १०१, तेस्रोलाई ७ हजार १०१ र तीन समूहलाई सान्त्वना पुरस्कारको रुपमा ३ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरामा मंगलबारदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
संस्थाको १८ औ वार्षिकोत्सवको अवसरमा आयोजित हरितालिका तीज महोत्सवबीच अघिल्लो वर्षझै यस वर्ष पनि सो प्रतियोगिता आयोजना गरिएको हो ।
३ दिनसम्म चल्ने प्रतियोगितामा ६ टीमले भाग लिएका छन् । प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन न्यू डायमण्ड एकेडेमी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र, मध्यपश्चिमाञ्चल भलिबल संघ र पश्चिमाञ्चल भलिबल संघ टीमले भाग लिएको खेल संयोजक सुशीलकुमार श्रेष्ठले बताए ।
विजेतालाई ५० हजार १०१, उपविजेतालाई ३० हजार १०१, तेस्रोलाई १५ हजार तथा सान्त्वनालाई १० हजार प्रदान गरिनेछ । यस्तै उत्कृष्ट खेलाडीसहित ५ विधा सर्भर, रिसिभर, डिफेन्डर, ब्लकर र स्पाइकरलाई पनि पुरस्कृत गरिनेछ ।
उद्घाटन खेलमा पश्चिमाञ्चल टीम विजयी भएको छ । उसले ढोरपाटनलाई २५–१२, २५–२३ र २५–८ को सोझोसेटमा पराजित गरेको हो ।
नेपाल पुलिस क्लब र मध्यमाञ्चलबीचको खेलमा पुलिसले सोझो सेटमा हराउँदै अंक बटुल्न सफल भयो । उसले २५–८, २५–१२ र २५–९ को सेटमा मध्यमाञ्चलको चुनौती सहजै पाखा लगाएको हो ।
न्यू डायमण्ड र पञ्चिमाञ्चलबीचको खेलमा न्यू डायमण्डले खेल जितेको छ । उसको पक्षमा २५–१३, २३–२५, २५–११ र २५–२३ को नतिजा आयो ।
चौथो तथा अन्तिम खेलमा सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई ३–१ को सेटमा हराएको छ । खेलमा सशस्त्र प्रहरीले २५–२२, २३–२५, २५–१८ र २५–१३ को सेटमा खेल जितेको हो ।
यसैबीच, अन्तरमाथि छात्रा भलिबल प्रतियोगिता पनि सुरु भएको छ । प्रतियोगितामा ७ टीमले भाग लिएका छन् । पहिलो दिनको खेलमा सिर्जना उच्च माविले अल्फा बोर्डिङलाई र करुणानीधिले इन्द्रराज्य लक्ष्मीलाई पराजित गरेको छ ।
विजेतालाई २५ हजार १०१, उपविजेतालाई १५ हजार १०१ तथा उत्कृष्ट खेलाडी पुरस्कारसहित विभिन्न विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ । आयोजकले प्याराफिट निर्माण गरी सशुल्क खेल हेर्ने व्यवस्था मिलाएको छ ।
