एन्फा कप नकआउट फुटबल प्रतियोगितामा ८ टिम मात्रै, उद्घाटन खेलमा मनाङ र झापा

Share:

काठमाडौं, भदौ ११ –आउँदो १७ गते देखि काठमाडौंमा सुरु हुने एन्फा कप नकआउट फुटबल प्रतियोगितामा ८ टिमको मात्र सहभागिता रहने छ । तयारी खर्च तथा पुरस्कार रकम नपाएसम्म एन्फाको कार्यक्रम बहिस्कारको घोषणा गर्दै आएका चार वटा क्लव बिना नै एन्फाले नक आउट प्रतियोगिता गराउने निर्णय गरेको छ ।

प्रतियोगितामा ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दीसँगै थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ र संकटाले खेल्नेछन् । यस्तै झापा फुटबल क्लब र मोरङ फुटबल क्लबले पनि भाग लिने एन्फाले जनाएको छ ।

एन्फाले बुधबार खेल तालिका सार्वजनिक गर्दै पहिलो खेलमा झापा ११ र मनाङ मर्स्याङ्दी क्लवबीच प्रतिस्पर्धा हुने जनाएको छ । मच्छिन्द्र, फ्रेण्ड्स, हिमालयन शेर्पा र सरस्वती क्लवले एन्फाको कार्यक्रम बहिस्कार गर्दै आएका छन् । एन्फाको अनुरोध अनुसारको प्रतिवद्धता पत्र बुझाउँदै प्रतियोगितामा सहभागी हुन अनुरोध गरेमा नियम बमोजिम यी चार क्लवलाई पनि प्रतियोगितामा सहभागी गराउने एन्फाले यसअघि बताएको थियो ।

यी चार क्लवसँग पटक पटक सोधिएका स्पष्टिकरणबाट उनीहरुले एन्फाको कार्यक्रम बहिस्कार गर्नुको चित्त बुझ्दो कारण पाउन नसकेको भन्दै एन्फा अध्यक्ष थापाले अन्तिम पटक स्पष्टिकरण सोधिएको र त्यसको पनि चित्त बुझ्दो जवाफ नआएमा एक वर्ष प्रतिबन्ध लगाउने चेतावनी यसअघि नै दिएका थिए ।

एन्फा कप फुटबल प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउने छ भने उपविजेता टिमले ५ लाख रुपैयाँ पाउने छ । सेमिफाइनलबाट बाहिरिने २ टिमले १–१ लाख रुपैयाँ पाउने छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलकिपर र स्ट्राइकरले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: