एन्फा कप : मनाङ मर्स्याङ्दीविरुद्ध झापा–११ को शानदार जीत

Share:

काठमाडौं १७ भाद्र / एएफसी प्रेसिडेन्ट्स कपको फाइनल राउन्ड खेल्ने तयारीमा रहेको लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई हराउँदै झापा–११ एन्फा कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापासँग  २–१ ले हार्दै मनाङ पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको छ ।

लिग उपविजेता मछिन्द्रका पूर्व फरवार्ड विशाल राईले २ गोल गरेपछि मनाङ स्तब्ध भएको थियो । एन्फाको बैठक बहिस्कार गर्दै आएका मन्छिन्द्रसहितका ४ क्लवलाई एन्फाले प्रतिबन्ध लगाएका कारण विशाल झापा पुगेका हुन् । ए डिभिजन क्लबमा लामो अनुभव बटुलिसकेका खेलाडीको बाहुल्यता रहेको झापाले पहिलो हाफमा अग्रता लिएर खेलमा पकड बनाएको थियो । दशरथ रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा १३ औं मिनेटमा शिव श्रेष्ठ, सागर थापा र विक्रम लिम्बुलाई छलाउँदै विशालले पहिलो गोल गरे । दोस्रो हाफमा लगातार दबाब बढाएको मनाङ ५३ औं मिनेटमा बराबरी गर्न सफल भयो ।

पेनाल्टी बक्सको ठिक बाहिर पाएको बललाई फरवार्ड दीपक राईले पोस्टको दिशा दिदै मनाङ खेलमा फर्काएका थिए । तर, त्यो बराबरी लामो समय टिकेन । ६८ औंमा दोस्रो गोल गरेका विशालले टोलीका अन्य खेलाडी र दर्शकसँग लामो खुसीयाली साटे ।झापाका प्रशिक्षक भगिरथ आलले पाँच दिनको तयारीमा एन्फा कप खेल्न आएको उल्लेख गर्दै भने,’हाम्रो खेलाडी यो मैदान र प्रतिद्वन्द्वीसँग परिचित छन् । अनुभवी खेलाडी भएकाले मनाङसँग कठिन होला भन्ने लागेको थिएन ।’

आले मनाङको कमजोर रक्षापक्तिको फाइदा उठाउन टोली सफल भएको बताए । उनको भनाईमा मनाङका प्रशिक्षक नवीन न्यौपानेले सहमति जनाए । ‘हाम्रो रक्षापक्ति सन्तुलित हुन सकेन । रक्षापक्तिले तीनवटा गल्ति ग¥यो त्यसमध्ये दुई गोल भयो,’ उनले भने,’ खेलमा कमब्याक गरेपछि पनि रक्षापक्तिले अर्को गल्ति ग¥यो ।’

एन्फाले आयोजना गरेको र २५ भदौसम्म चल्ने प्रतियोगितामा झापा र मनाङसँगै मोरङ फुटबल क्लव, सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल  आर्मी, नेपाल पुलिस, संकटा क्लव र थ्री स्टारले खेल्ने छन् । विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छ ।

कमेन्ट गर्नुहोस्
Share: