ट्रक व्यवसायीले खादा होईन अतिथि सबैलाई ढाकाटोपीले स्वागत गरे ………..

Share:

समयमै संविधान बनाएर पूर्वाधार विकासमा लाग्नुपर्छः निधी

रञ्जन अधिकारी पोखरा, २२ भदौ / भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधीले समयमै संविधान बनाएर मूलुकको विकास निर्माणमा लाग्नुपर्ने बताएका छन् । संविधान निर्माणमै लामो समय अल्झिँदा आर्थिक विकास हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै उनले अब कुनै हालतमा संविधान जारी गरेर पूर्वाधार निर्माणमा जुटिहाल्नुपर्ने आवश्यकता औंल्याए ।

गण्डकी ट्रक यातायात व्यवसायी संघ, पोखराको ३७ औं साधारणसभा तथा १७ औं अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि समेत रहेका निधीले यो नै अन्तिम संविधानसभा हुने उल्लेख गरे । ‘पहिलो संविधानसभाको विघटनले हामीमा परिपक्वता आईसकेको छ । हामी लागिपरेका छौं । तपाईंहरुपनि आÇनो ठाउँबाट लाग्नुहोस् ।’ मन्त्री निधीले भने– ‘समयमै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बन्छ बन्छ ।’

सरकार र नीजि क्षेत्र मिलेर यातायात क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिँदै उनले सडक निर्माण, भौतिक पूर्वाधारको विकासमा जुट्न आवश्यक रहेको बताए । ‘मुलुकभरका पूराना सडकहरुलाई छ लेनको बनाउने, हुलाकी राजमार्ग, काठमाण्डौं निजगढ फास्ट ट्रयाक, लोकमार्ग निर्माणका काम अघि बढिसकेको छ ।’ उनले भने – ‘पूराना सवारी विस्थापित, स्थापित गर्ने सम्बन्धमा व्यवसायीबाट आएको माग सकारात्मक छ ।’ मन्त्री निधीले लामो दुरीका सडकहरुमा जथाभावी रोकिने ट्रक पार्किङका लागि स्थान छुट्टाउने पहल सुरु गरिने आश्वासन पनि दिए ।

ट्रक व्यवसायीले रुट पर्मिटका लागि वर्षको तीन पटक र जाँचपासका लागि वर्षेनी दुई पटक अनिवार्य रुपमा राजश्व बुझाउन परिरहेको गुनासो गरेपछि मन्त्री निधीले व्यवसायीको माग जायज रहेको भन्दै वर्षको एकपटक मात्रै सवारी दर्ता नविकरण गर्ने क्रममा एकमुष्ठ राजश्व लिई जाँचपास र बाटो ईजाजत पत्र दिने सम्बन्धमा ऐनमै सुधारका लागि पहल गर्न बताए ।

विशेष अतिथि नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले सरकारले ढुंगा, गिट्टी, बालुवा माथि रोक लगाएर रोजीरोटी खोस्ने काम नगर्न आग्रह गरे । ‘हाम्रा मागहरु पूरा सरकारले तत्काल पूरा गरोस् । बार्ता र सम्वादबाट अघि बढ्न तयार छौं ।’ उनले भने– ‘राज्यले लाखौं लगानी गरेका व्यवसायीहरुलाई मार पर्ने काम नगरोस् ।’

मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि राज्य संवेदनशील रहेको बताए । नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र श्रेष्ठले मुलुकभर ५० हजार बढि ट्रकमा खरबौंको लगानी रहेको जनाउँदै सरकारले उपयुक्त नीति ल्याउन जोड दिए । उनले भारतीय गाडीहरु खुल्ला रुपमा यहाँ सञ्चालन हुने अनुमति प्रदान गरेकोमा आपत्ति जनाउँदै तेब्बर भन्सार तिरेका यहाँका व्यवसायी र उनीहरुबीच प्रतिष्पर्धा हुनै नसक्ने जनाए ।

सभासद् यज्ञबहादुर थापाले गिट्टी बालुवा झिके उपयुक्त हुने कतिपय ठाउँहरु पनि रहेको जनाउँदै स्थान पहिचान गरेर मात्रै अघि बढे राम्रो हुने सुझाव दिए । कार्यक्रममा अर्का काँग्रेस सभासद् शारदा पौडेल, काँग्रस कास्कीका पूर्व सभापति शोभियतबहादुर अधिकारी, बिमा समितिका डा. फत्तबहादुर केसी, नेकपा एमाल कास्कीका अध्यक्ष कृष्ण थापा, एमाओवादीका गंगा पोखरेल, राप्रपा नेपालका जयलाल पुन, नारायणी यातायात व्यसायी समितिका गोकर्ण पराजुली, पोखरा बस व्यवसायी समितिका अध्यक्ष रमेश गिरी, नेपाल यातायात मजदुर संघ गण्डकीका जीत गुरुङ, नेपाल यातायात मजदुर संगठन गण्डकीका विष्णु खत्री, सिप्रदी ट्रेडिङका सन्तोष खतिवडा लगायतले बोलेका थिए ।

संघका अध्यक्ष कृष्णहरि जिसीको अध्यक्षतामा भएको साधारणसभामा महासचिव डिल्लीराम भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रामकृष्ण खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हेमराज सुवेदीले स्वागत र सल्लाहकार विष्णुप्रसाद बरालले सञ्चालन गरेका थिए । सो अवसरमा गत वर्षको एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने व्यवसायी तथा चालकका छोराछोरीलाई सम्मान समेत गरिएको थियो ।

१७ औं अधिवेशनले संघको नयाँ नेतृत्व भने सोमबार मात्रै चयन गर्ने भएको छ । सर्वसम्मतको प्रयास भईरहेको महासचिव भट्टराईले जानकारी दिएका छन् ।

यसैबीच, कार्यक्रममा सम्पूर्ण अतिथिहरुलाई खादाका सट्टा ढाका टोपीले स्वागत गरिएको थियो । महिलालाई भने ढाका पछ्यौरा दिईएको थियो । नेपाली राष्ट्रिय पोशाक र राष्ट्रियताको मुद्धालाई प्राथमिकताका साथ उठाएको राप्रपा नेपालका कास्की जिल्ला अध्यक्ष जयलाल पुनले पनि भनिहाले ‘गण्डकी ट्रक व्यवसायीले राष्ट्रियताको भावना जागृत गराउने काम गरेकोमा धन्यवाद ।’ पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश थपलियाले पनि यसअघि सरकारी कार्यालयको कार्यक्रममा खादा नलगाउन निर्देशन दिएका थिए भने सबै आयोजकहरुले खादा प्रयोग नगरे फोहोर नबढ्ने उल्लेख गरेका थिए । मञ्चमा अतिथिहरु ढाकाटोपीमा सजिँदा दृश्य नै फरक देखिन्थ्यो ।

कमेन्ट गर्नुहोस्
Share: