
पोखरा २९ भदौ / पहिरोबाट जोखिममा रहेको पोखराको मानव निर्मित पर्यटकिय धरोहर स्तुपा संरक्षणका लागी निजी तथा सरकारी तवरबाट पहल शुरु गरिने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीमा सम्पन्न बैठकले स्तुपा संरक्षणको लागी सरकारी तथा निजी क्षेत्रले संयुक्त रुपमा अगाडी वढ्ने निर्णय गरेको हो । तीन हप्ता अगाडी भिषण वर्षाका कारण पहिरोबाट क्षती हुन पुगेको शान्ति स्तुपामा वर्षाका कारण केही पनि काम शुरु हुन नसकेपछि स्तुपाको संरक्षण गर्दै आएको समितीले ढिलाईका कारण स्तुपा खतरामा रहेको भन्दै तत्काल संरक्षणमा जुट्नुपर्ने दवाव दिदै आएको थियो ।
आइतबार सम्पन्न सर्वपक्षिय भेलाले स्तुपाको संरक्षणका लागी दक्ष प्राविधीकले सर्वे तयार गरी त्यसको निर्माणमा लाग्ने खर्च सरकारी तथा निजी क्षेत्रबाट संकलन गर्ने निर्णय गरेको छ । बैठकमा पश्चिमाञ्चल क्षेत्रिय प्रशासक दिनेश कुमार थपलियाले स्तुपा राष्ट्रको गहना भएकाले यसको संरक्षणमा हामी सवै एकजुट भएर लाग्नुपर्ने वताउदै त्यसमा पनि सरकारी निकाय दत्तचित्त भएर लाग्नुपर्ने वताए । सरकारी निकायले पहल थाल्ने र त्यसमा सवैले साथ दिनुपर्ने उनको भनाइ रहेको थियो । बैठकमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर रावतले जल तथा प्रकोप बिभागबाट यसको वारेमा अध्ययन भइरहेको र वर्षाका कारण तत्काल निर्माण कार्य थाल्दा दिगो हुन नसक्ने भएकाले वर्षा रोकिनसाथ काम अगाडी वढ्ने वताए । त्यसका लागी प्राविधीकहरुबाट यसको सर्वे भइरहेको उनको भनाइ रहेको थियो ।
बैठकमा उपस्थित पर्यटन ब्यवशायीहरुले पर्यटनको सिजन शुरु हुन लाग्दा स्तुपामा प्रवेश निषेध हुनुले पर्यटन क्षेत्रमा ठुलो क्षती पुगेको वताउदै निर्माण कार्य संगै सुरक्षा सहित पर्यटकहरुका लागी स्तुपा खुल्ला गरिनुपर्नेमा जोड दिएका थिए । यसैविच विश्व शान्ति स्तुपमा गएको पहिरो संरक्षणको लागी समितिका अध्यक्ष प्रकाशमान गुभाजुको संयोजकत्वमा विश्व शान्ति स्तुपा संरक्षण परियोजना समिति निर्माण गरी उनकै नेतृत्वमा संरक्षणको सम्पूर्ण काम सम्पन्न गर्ने समेत निर्णय गरिएको छ ।
समितीको सदस्यहरुमा जिल्ला बिकास समिती, ईन्जीनियर नारायण प्रसाद श्रेष्ठ, जिल्ला भु संरक्षण कार्यालयका प्रमुख उद्धव बहादुर घिमिरे, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय प्रमुख हरिश चन्द्र रौनियार, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापा, पोखरा पर्यटन परिषदका अध्यक्ष सूर्य वहादुर भुजेल, भौगार्भिक ईन्जीनियर नारायण गुरुङ, पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराई रहेका छनभने सदस्य सचिवमा उत्तम मान बुद्धाचार्यलाई चयन गरी निर्माणकार्यलाई तीब्रता दिइने भएको छ ।
उक्त समितिको सल्लाहकारमा कास्कीबाट प्रतिनिधीत्व गर्ने ११ जना सभासद, पश्चिमाञ्चल क्षेत्रिय प्रशासक दिनेश कुमार थपलिया, प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर रावत, पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी, पश्चिम पृतना फुलवारीका पृतनापति, कास्की प्रहरी प्रमुख बसन्त कुमार लामा, शसस्त्र प्रहरी वल मालेपाटनका गणपति रहेका छन ।
प्राविधीक उपसमितमा जलउत्पन्न नियन्त्रण कार्यालयका प्रमुख, जिल्ला भु संरक्षण कार्यालयका प्रमुख, भौगर्भिक ईन्जीनियर सदस्य रहने गरी समिती निर्माण गरिएको छ ।
