
पोखरा | नेपाली फिल्म ‘निशानी’ले पोखरामा दर्शकको राम्रो साथ पाएको छ । शनिबारको तीन वटै शो हाउसफुल रहेको फिल्म पोखरेली दर्शकले उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् । पोखरेली दर्शकसंगै फिल्म हेर्न हलमा पुगेकी नायिका अनु गुरुङलाई शनिबार दर्शकहरुको प्रतिक्रिया लिन भ्याईनभ्याई थियो । र, साथमा थिए फिल्मका अर्का कलाकार सुरज रानाभाट ।
अनु र सुरज दुवै पोखराकै हुन् । त्यसैले पनि पोखरेली दर्शकको प्रतिक्रिया उनीहरुको लागि विशेष थियो । ‘आफुले पहिलोचोटी अभिनय गरेको फिल्म आफ्नै घरपरिवार, आफन्त र साथीभाईसंगै बसेर हेरौँ भनेर म पोखरा आएकी हुँ ।’ काठमाण्डौ बस्दै आएकी नायिका अनु गुरुङले भनिन्–‘पोखरेली दर्शकले म र मेरो फिल्मप्रति देखाएको सद्भावप्रति म निकै आभारी छु ।’ उता नायक सुरज रानाभाट पनि फिल्मको प्रतिक्रियाले निकै मख्ख देखिएका थिए ।
हलसंचालकका अनुसार पोखरामा निशानीले राम्रो कलेक्सन गरिरहेको छ । शुक्रबार र शनिबार निशानी हेर्ने दर्शकहरुको भीड निकै बाक्लो रहेको हलसंचालकले बताए । लाहुरे सँस्कृतिमा आधारित लभस्टोरी बेस्ड फिल्म निशानीमा प्रशान्त तामाङ मुख्य अभिनेता हुन् । उनीसंगै अनु गुरुङ, सुरज रानाभाट, विष्णु चेम्जोङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
सरोज भण्डारीले निर्माण गरेको फिल्मलाइ विनोद सेरेङले निर्देशन गरेका हुन् । फिल्ममा प्रचारप्रसारसहित करिब ८० लाख रुपैँया खर्च भएको निर्माणपक्षले जानकारी दिएको छ । भारतमा समेत सेन्सर पास भएको फिल्म निशानी नेपालसहित भारतका हलहरुमा समेत प्रदर्शन हुने निर्माणपक्षले जनाएको छ । यसअघि प्रशान्तले खेलेको पहिलो फिल्म गोर्खा पल्टन ब्लकबस्टर भएको थियो । जुन फिल्ममा पनि प्रशान्त लाहुरेको भुमिकामा देखिएका थिए । निशानीमा पनि प्रशान्तको लाहुरे चरित्र दर्शकले मन पराउनेमा निर्माणपक्ष बढि आशाबादी देखिएको छ ।

