
रञ्जन अधिकारी पोखरा, १ असोज / लुमन्ति आवासका लागि सहयोग समूह, होमलेस ईन्टरनेशनल यूके र पोखरा उपमहानगरपालिकाको सहकार्यमा सञ्चालन भईरहेको पोखरा आवास कार्यक्रम, क्लिफ परियोजना अन्तर्गत तेस्रो र चौथो चरणको परियोजना पोखरा १७ सीतापाईला र बिरौटमा सुरु भएको छ ।
सीतापाइलामा १ सय २१ र विरौटामा ४५ घर निर्माण गर्ने प्रक्रिया अघि बढेको लुमन्ति पोखराका फिल्ड संयोजक सन्तोष जिसीले जानकारी दिए । लुमन्तिले यसअघि पोखरा १४ को समावेशी टोलमा ७५ र सुन्दर टोलमा ३० वटा घर निर्माण गरिसकेको छ । पोखरामा क्रियाशील पत्रकारलाई बुधबार स्थलगत अवलोकन भ्रमण गराउने क्रममा जिसीले भने – ‘आफूसँग केही पैसा भएर पनि पोखरामा घर बनाउन नसकिरहेकाहरुलाई घर निर्माण गर्न सघाईरहेका छौं ।’
उनका अनुसार सीतापाईलामा घर निर्माण कार्य सम्पन्न भएपछि हरेक घरमा बायोग्यांस प्लाण्ट जडान गर्ने योजना छ । समावेशी टोलमा पनि ७५ वटै घरको एउटै सेफ्ीट्याङ्की बनाएर वायोग्याँसबाट विजुली निकाल्नको लागि ७५ प्रतिशत पुरा भएको टोल विकास संस्थाका अध्यक्ष माधव बरालले बताए ।
सम्बन्धित व्यक्तिले आफूलाई मन परेको जग्गा खरिद गरेपछि घर निर्माणका लागि लुमन्तिले बैंकसँगको सहकार्यमा ४ लाख रुपैयाँ ८ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउनेछ । जग्गाका लागि सुरुमा ५ लाख रुपैंयाको व्यवस्था गरे पुग्ने र सोहि जग्गा धितो राखी घर बनाउन ४ लाख रुपैंया प्राप्त हुने जिसीले बताए । उनका अनुसार त्यसपछि मासिक ६ हजार ३ सय ५० रुपैंया तिर्नुपर्ने हुन्छ । ऋण ७ वर्षमा चुुक्ता हुनेछ । लुमन्तिले भौतिक संरचना निर्माणका खानेपानी, क्षमता अभिवृद्धिका लागि तालिम, अभिमुखीकरण लगायतका कार्यक्रममा समेत सहयोग पु¥याउने जनाएको छ ।
लुमन्तिका प्राविधिक गणेशमान पुनका अनुसार साढे २ देखि ३ आना जग्गामा न्यून लागतमा भूकम्पीय सुरक्षात्मक प्रविधि अपनाएर निर्माण हुने घरको नाप र डिजाईन एउटै छ । ४ सय ५५ वर्ग फिटको घर बनाउँदा अगाडि पार्किङ र पछाडि १० फिट चौडाई र २० फिट लम्बाई बराबरको जग्गा बाँकी रहन्छ । त्यसलाई उपभोक्ताले आफु अनुकुल प्रयोग गर्न सक्नेछन् । उनका अनुसार ढलानसहित साढे दुईतलासम्म घर बनाउन सकिने छ ।
नेपालको कुनै पनि नगरपालिकामा आफ्नो स्वामित्वमा घर जग्गा नभएका, राजपत्र अनंकित वा सो सरहका कर्मचारी, पाँच वर्षदेखि पोखराका सरकारी, गैरसरकारी, विद्यालय तथा अन्य कार्यालयहरुमा कार्यरत कर्मचारी, शिक्षक, संचारकर्मी, अदक्ष रुपमा वैदेशीक रोजगारमा गएका कामदार,साना खुदा व्यापारी, यातायात, औद्योगिक क्षेत्र तथा निर्माण कार्यमा कार्यरत मजदुर, एकल महिला, अपाङ्ग र द्धन्द्ध पीडितले आवास निर्माणका लागि लुमन्तिमा आवेदन दिन सक्नेछन् ।
समावेशी र सुन्दर टोल निर्माणका क्रममा परियोजना व्यवस्थापन गर्न पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीको संयोजकत्वमा परियोजना व्यवस्थापन समिति गठन गरिएको थियो । समितिले लक्षित समुदायको पहिचान गरी प्राथमिकताका आधारमा सहयोगको लागि सिपाmरिस गर्नेछ । समितिमा लुमन्ति, लक्ष्मी बैंंक, नागरिक समाजका प्रतिनिधि, पोखरा उपत्यका नगर विकास समिति, सहरी विकास तथा भवन निर्माण विभागका प्रतिनिधि, पत्रकार र समुदयका प्रतिनिधि सदस्य छन् ।
यो वर्षभित्रै ३ सय ७९ वटा निर्माण गरिसक्ने लक्ष्य लुमन्तिले लिएको छ । “सुरुमै चार लाख बुझाउँनु पर्दा यो कार्यक्रममा विपन्न वर्ग छुटेको छ,” जिसी भन्छन्,“जग्गा र घरसहित १० लाखको १० वर्षे किस्दा बनाएर त्यो वर्गलाई समेट्न प्रयासमा लुमन्ति लागेको छ ।” दशैंपछि घर निर्माण कार्य अघि बढ्ने उनले बताए ।

