
रञ्जन अधिकारी पोखरा, २ असोज / लागूऔषध प्रयोगकर्तालाई कुलतबाट छुटाउन प्रहरी हिरासतमा नराखी सुधार केन्द्रमा राख्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कतिपय प्रयोगकर्ताहरु कारोबारी समेत रहने र उनीहरु पक्राउपछि हिरासतमा राख्दा नसुध्रिने भएकाले सुधार केन्द्रको आवश्यकता औंल्याईएको हो ।
कास्कीमा जारी १५ दिने लागू औषध नियन्त्रण विशेष अभियान अन्तर्गत विहिबार भएको ‘कास्की जिल्लामा लागू औषधको चुनौति र समाधानका उपाय’ विषयक अन्तक्र्रिया कार्यक्रममा वक्ताहरुले नेपालको कानुन समेत अव्यवहारिक रहेकाले यसको सुधार गर्नुपर्ने समेत बताए । सरकारले यस्ता कुलतमा फसेकाहरुका लागि सुधार केन्द्रहरु स्थापना गर्नुपर्नेमा उनीहरुको जोड छ ।
प्रमुख अतिथि मानवअधिकारकर्मी टेकनाथ बरालले समाजमा लागूऔषध दुव्र्यसनीहरुको संख्या बढिरहेको उल्लेख गर्दै यसको नियन्त्रणमा सबै आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिए । बालबच्चालाई सानै उमेरदेखि लागूपद्धार्थको असरबारे शिक्षा दिनुपर्ने, दुर्जन साथीको संगतबाट टाढा रहनुपर्ने, समाजका जिम्मेवार व्यक्तिहरुले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा उनको जोड थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक बसन्तकुमार लामाले प्रहरीले कानुनको पालना गर्दै अघि बढ्नुपर्ने भएकाले सोहि अनुसार आफूहरुले कार्य गरेको बताए । उनले लागूऔषध दुव्र्यसनीलाई दुःख दिने प्रहरीको मनसाय नरहेको भन्दै हिरासत भन्दा सुधारगृह नै उपयुक्त हुने कुरामा समर्थन गरे । ‘तीन महिनासम्म थुनामा राख्न सकिने कानुनी व्यवस्था छ । हामी त्यति पनि राख्न चाहन्नौं ।’ उनले भने – ‘लागूपद्धार्थ ओसारपसार गर्नेलाई त हदैसम्मको कारबाही गर्नुपर्ने हुन्छ । तर किनेर खानेहरु जसले कारोबार गर्दैनन् उनीहरुलाई थुन्ने होईन सुधार गर्नमै हाम्रो जोड रहन्छ ।’
कार्यक्रममा कार्यपत्र समेत प्रस्तुत गर्दै कम्युनिटी सपोर्ट ग्रुपका कार्यकारी निर्देशक दिलिप गुरुङले हालसम्म कास्कीमा ३ हजार ४ सय ८५ जना पुरुष र १ सय ८२ महिला सुधार केन्द्रमा भर्ना भएको जानकारी दिए । सुधार केन्द्रमा बिरामीलाई दुःख दिने गरेको आरोपको खण्डन गर्दै उनले यस्तो भएको भए सुधार केन्द्रलाई सुधार गर्न आग्रह पनि गरे । ‘सरकारी तबरबाट सहयोग छैन, न कुनै विदेशी दातृ निकायबाटै ।’ गुरुङले भने– ‘सीमित शुल्क लिएर काम गर्नुपर्ने अवस्था छ । यसबारे राज्यले गम्भीर ढंगले सोच्नु जरुरी छ ।’
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापाले सेवनकर्तालाई थुनामा नराखी सुधारगृहमा राखेर उपचार गर्नुपर्ने बताए । सहभागीहरुले औषधि विक्रेताले ड्रग्स बेच्ने गरेको गुनासो गरेपछि औषधि व्यवसायी संघ गण्डकीका अध्यक्ष यमनाथ पौडेलले व्यवसायीहरुले यस्तो कार्य गरेको पाईए प्रहरीमा उजुरी गर्न अभिभावकलाई आग्रह गरे । ‘हाम्रा पनि छोराछोरी छन् । यही सोचेर व्यवसायीहरुले कार्य गर्नुपर्ने हुन्छ ।’ पौडेलले भने– ‘सबै औषधी व्यवसायीलाई दोष दिन मिल्दैन ।’
पूर्व लागूऔषध प्रयोगकर्ता गोपाल श्रेष्ठले समाजले दुव्र्यसनीलाई हेर्ने नजर नै नकारात्मक रहेको टिप्पणी गरे । एमाले कास्कीकी सचिव प्रभा कोईरालाले साथीको संगत र अभिभावकको गैरजिम्मेवार व्यवहारले पनि छोराछोरीहरु लागूऔषध दुव्र्यसनमा फस्ने गरेको बताईन् ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष मंगल नेपाली, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियनका दिलिप थापा, ट्रेड यूनियन काँग्रेसका जीतबहादुर गुरुङ, जिफण्टका विष्णु खत्री, अधिवक्ता सरलाकुमारी पाण्डे, पत्रकार राजेश पराजुली लगायतले बोलेका थिए । उनीहरुले नाकामा कडाई गर्नुपर्ने, संगत गतिलो हुनुपर्ने, प्रहरीले पनि चेकजाँच कडाई पार्नुपर्ने, आयातकर्ता र सेवनकर्ताका बारेमा स्पष्ट हुनुपर्नेमा जोड दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्की, लागू औषध नियन्त्रण ब्युरो, सामुदायिक प्रहरी सेवा केन्द्रहरु, समाज सुधार आमा समूह, पत्रकार महासंघ कास्की, रिकभरिङ नेपाल लगायतका संघसंस्थाको सहभागितामा जारी अभियानका क्रममा जनचेतनामूलक ¥याली, विद्यालयहरुमा सचेतना कक्षा लगायतका कार्यक्रम भएका छन् ।
नेपालमा लागूऔषध प्रयोग र ओसारपसार समस्या विकराल बन्दै गएको अवस्था छ । हरेक ५ वर्षमा संकलन गरिदैं आएको तथ्यांक अनुसार पाँच वर्षमै लागूपद्धार्थ प्रयोगकर्ताको संख्या दोब्बरले बढेको छ । २०६३ सालमा ४६ हजार रहेकोमा २०६९ सालमा गरिएको पछिल्लो तथ्यांक अनुसार लागूपद्धार्थ सेवनकर्ताको संख्या ९१ हजार नाघेको छ । विभिन्न मुलुकमा लागूपद्धार्थ ओसारपसार गर्नेलाई हदैसम्मको कारबाही छ तर नेपालमा कानुनी अवस्था खुकुलो नै छ ।

