म ‘फेल’ भए एमाले र नेतृत्व लिन चाहने सबै युवा ‘फेल’ – उद्योगमन्त्री बस्नेत

Share:

रञ्जन अधिकारी पोखरा, ५ असोज / उद्योगमन्त्री महेश बस्नेतले आफ्नो पद समग्र युवाको प्रतिष्ठासँग जोडिएकाले आफूले थालेका अभियानलाई सफल पार्न सबै युवाको साथ समर्थन आवश्यक रहेको बताएका छन् । उनले मन्त्रालय सम्हाल्ने क्रममा आफू फेल भए युवा संघ, एमालेका साथै मुलुकको नेतृत्व लिन चाहने सबै युवामाथि प्रश्न चिन्ह खडा हुने उल्लेख गरे ।

युवा संघ नेपाल, जिल्ला कमिटि कास्कीको आईतबार पोखरामा दशौं सम्मेलनको उद्घाटन गर्दै मन्त्री बस्नेतले असफलताको कल्पना समेत गर्न नसकिने बताए । ‘महेश बस्नेत फेल हुने कुरा एमालेसँग जोडिन्छ, युवा संघसँग जोडिन्छ र आम युवा पुस्ता जो भोलि यो मुलुकको नेतृत्व गर्छु भनेर राजनीतिमा लागेका छन् उनीहरुमाथि प्रश्न उठ्छ ।’ बस्नेतले भने –‘असफलता हुने कल्पनै गर्न सकिँदैन ।म सफल हुनुपर्छ, युवा संघ र एमाले सफल हुनुपर्छ । तपाई सफल हुनुपर्छ, मलाई सहयोग गर्नुस् ।’

IMG_0380

उनले युवामाथि भरोसा गरेरै पार्टीले यति ठूलो जिम्मेवारी दिएको बताए । ‘सामाजिक न्यायका लागि संघर्ष गरेको, युथफोर्स बनाएर आतंक सिर्जना गर्नेलाई तह लगाएको, एमालेलाई अगाडि ल्याएकै कारण मुलुकमा समृद्धि आन्दोलनको नेतृत्व अब युवा साथीहरुले लिनुपर्छ भनेर तपाईंहरुकै अध्यक्षलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिईएको छ ।’ बस्नेतले भने ।

मन्त्री भएपछि सामाजिक सञ्जालमा भएका टिकाटिप्पणी र आफ्नै पार्टीभित्रका नेताबाट सार्वजनिक भनाईप्रति लक्षित गर्दै उनले युवालाई सफल हुन नदिन षड्यन्त्र भईरहेको समेत गुनासो गरे । ‘नेपालको राजनीतिमा जबर्जस्त स्थापित हुन खोजेको युवा नेतृत्वलाई अनेक कोणबाट आक्रमण गर्ने र अभिमन्युका जस्तो चक्रव्युहमा पारेर समाप्त गर्ने खालको डिजाईनहरु नेपालको रााजनीतिभित्र देखिन खोज्दैछ ।’ ओलीका निकै निकट मानिने बस्नेतले भने– ‘यसलाई जबर्जस्त चिरेर तपाईंको अध्यक्ष उद्योग मन्त्री बनेको छ । पार्टी र अध्यक्ष कमरेड केपी ओलीले यो भूमिका दिनुभएको छ ।’

उद्योग मन्त्री बस्नेतले मन्त्रालयको जिम्मेवारीलाई निकै ठूलो चुनौतिका रुपमा लिएको बताए । यस क्षेत्रको विकासका लागि औद्योगिक पार्क, औद्योगिक गाउँ खडा गर्नुपर्ने भन्दै उनले स्थानीय निकायसँग उद्योग जोड्न सक्छौं कि सक्दैनौं भन्ने विषयमा चिन्तन जरुरी रहेको उल्लेख गरे । ‘विगतमा नयाँ औद्योगिक कलकारखानाका निमित्त औद्योगिक क्षेत्र घोषण ग¥यौं, यो नाम क्याची हुँदैन, टची हुँदैन । अब ईण्डष्ट्रियल भिलेज, औद्योगिक पार्क घोषणा गर्ने हो कि ?’ बस्नेतले थपे– ‘शहरका औद्योगिक क्षेत्रलाई नगरपालिका तथा सरकारी स्तरबाटै अपार्टमेन्ट, बिजनेश सेन्टर बनाउन सकिन्छ । र ग्रामीण क्षेत्रमा ईण्डष्ट्रियल भिलेज स्थापना गर्न सके पूर्वाधार तयार हुन्छ, स्थानीयले रोजगारी पाउँछ ।’ उनले प्राईभेट क्षेत्रलाई जग्गा दिन नसक्ने स्पष्ट पारे । उनले भने– ‘किनभने, हामीलाई थाहा छ । हिजो गिरीजाबाबुको पालामा निजी क्षेत्रलाई करोडौं मूल्यमा दिएको जग्गाका कारण आज उद्योग क्षेत्र धराशायी भएको छ ।

बस्नेतले महिलाहरुद्वारा सञ्चालन हुने उद्यमलाई सफल बनाउन महिला उद्योगी संरक्षण कोष मन्त्रालयले खडा गर्ने जनाउँदै घरेलु उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताए । ‘मैले २ हजार जति खादा ओढे हुँला, डेढ सय खर्च गर्दा केहि काम लाग्दैन’ टोपी र ढाकाको खादा देखाउँदै उनले भने– ‘८० रुपैंयाको यो ढाकाको गलबन्दी ओढाउने हो भने पछि प्रयोग गर्न पनि मिल्ने, नेपाली हस्तकला उद्योगको विकास पनि हुने ।’

बस्नेतले महिलालाई विना धितो ऋण र पढेलेखेका युवाहरुलाई शैक्षिक प्रमाणपत्र राखेर ऋण प्रदान गर्नुपर्नेमा जोड दिए । ‘सरकारले गाविसमा १ लाख मात्रै भएपनि बजेट छुट्टाउने, महिलालाई विना धितो ऋण दिने, पढेलेखेका युवाहरुलाई शैक्षिक सर्टिफिकेट धितो राखेर ऋण दिने हो भने यहाँ उद्योगको प्रवद्र्धन हुन्छ ।’ बस्नेतले भने– ‘शहरीया महिलाको नाममा लालपुर्जा छ । तर, कर छल्नका लागि मात्रै । किनकि, पुरुषको नाममा जग्गा दर्ता गर्दा ६ प्रतिशत तथा महिलालाई ३ प्रतिशत मात्र कर लाग्छ ।’

युवाहरुले विदेशबाट कमाएर ल्याएको पैसा जग्गा जस्तो अनुत्पादक क्षेत्रमा लगानी गरिरहेकोमा दुःख प्रकट गर्दै उनले उद्योगमा लगानी गर्ने हो भने मुलुक फस्टाउने र अन्य युवाले रोजगारी पाउने बताए ।

उनले आफूलाई अहिले धेरै सम्मान नगर्न र मन्त्री पदबाट निस्केपछि कामको मूल्यांकन गरेर मात्र सम्मान गर्न साथीहरुलाई आग्रह गरे । ‘मलाई अहिले धेरै सम्मान पनि नगर्नुस्, बर्तमानको सम्माननीय हुन मन छैन, हाम्रो आयू त कति छ र ५–६ महिना हो । मलाई औद्योगिक मन्त्रालयमै ब्यस्त हुन दिनुस् ।’ उनले थपे –‘मैले मन्त्री छाडेर आएका दिन स्याबास अध्यक्ष तिमीले यस्ता काम गरेर आयौ भनेर सम्मान गर्नुस्, मेरो छाती गर्वले फुल्नेछ ।’ उनले सहमतीमा नेतृत्व चयन गर्न सुझाव पनि दिए ।

नेपालको युवा आन्दोलनको मूल कार्यभारका रुपमा समृद्धि प्राप्तिका लागि युवा संघले अघि सारेको कहिले बन्द हडताल नगर्ने, ढुंगामुढा नगर्ने, टायर नबाल्ने नीतिमा एमालेले पनि घोषणापत्रमै बन्द आयोजना नगर्ने प्रतिबद्धता जनाएको जनाउँदै उनले अब पार्टीलाई समृद्ध बनाउन सबै युवा लाग्नुपर्ने बताए ।

युवा संघ नेपालकी कार्यवाहक अध्यक्ष निरु पालले युवाहरु अब मुलुकको समृद्धितर्फ लाग्नुपर्नेमा जोड दिईन्। बस्नेत मन्त्री भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएकी पालले युवाहरु सामाजिक क्षेत्रमा क्रियाशील रहँदै पार्टी र मुलुकको उन्नयनमा लाग्ने बताईन् । युवा संघ नेपालका महासचिव राजीव पहारीले अब युवाहरु नेतृत्व तहमा पुग्नुपर्नेमा जोड दिँदै मुलुकको आर्थिक विकासमा लाग्नुपर्ने बताए ।

नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, सचिव दामोदर बैरागी, पूर्व राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य पुण्य पौडेल, युवा संघका केन्द्रिय सदस्य तथा कास्की ईञ्चार्ज फत्त बहादुर गुरुङ, युवा संघ पर्वतका अध्यक्ष विमल लामिछाने लगायतले बोलेका थिए । सम्मेलन आयोजक समितिका संयोजक विष्णु पुनको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक कमल भुजेलले स्वागत तथा सचिव डिल्लीराम सुवेदीले सञ्चालन गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्
Share: