
पोखरा ६ असोज | पोखरामा ‘अन्तराष्ट्रिय म्यानहटन लघु चलचित्र महोत्सव’ हुने भएको छ । पोखरा फिल्म सोसाईटीको आयोजनामा महोत्सव हुने भएको हो । सँगसंगै फिल्मसम्बन्धि कार्याशाला गोष्ठी समेत गरिने उसले जानकारी दिएको छ ।
सोसाईटीका अध्यक्ष घनश्याम लामिछानेले महोत्सव र गोष्ठीको बारेमा जानकारी दिएका हुन् । ‘एक विश्व, एक हप्ता, एक महोत्सव’ भन्ने नाराका साथ ‘१७ औं म्यानहटन लघु चलचित्र महोत्सव सेप्टेम्बर २६ देखि अक्टोबर ५ सम्म विश्वभरि नै हुँदैछ । ४७ वटा देशबाट ५८९ चलचित्रहरूले महोत्सवका लागि सहभागिता पठाएका थिए । जसबाट जम्मा १० वटा चलचित्रहरूलाई अन्तिम प्रतियोगिताका लगि छनौंट गरिएको छ ।
ती १० वटा चलत्रिहरूलाई म्यानहटन लघु चलचित्र महोत्सवमा प्रदर्शन गरी दर्शकहरूको अत्याधिक मत प्राप्त गर्ने चलचित्रलाई विजयी बनाइने छ । विश्वभरीका ३०० भन्दा बढी शहरका सिनेमा हल, संग्राहलय, पुस्तकालय, विश्वविद्यालयहरूमा यो महोत्सव हुनेछ ।
बिगत ४ बर्षदेखि नेपाल च्याप्टरका रूपमा नेपालमा पनि ‘म्यानहटन लघु चलचित्र महोत्सव’ हुँदै आएको छ । काठमाडौंमा मात्र सीमित यो महोत्सवलाई अन्डरग्राउण्ड टकिजसँगको सहकार्यमा पोखरा फिल्म सोसाइटीले पोखरामा आयोजना गर्ने भएको हो ।
