
गोकुल बानियाँ, पोखरा ७ असोज । खाना पाकाउने एलपि ग्यासमा तौल कम हुनु र ग्यास चाडै सकिनुको रहस्य पत्ता लागेको छ । डिपोबाट ग्यास लैजाने र बिचमै ग्यास निकालेर खाली सिलिण्डर भर्दै अतिरिक्त सिलिण्डर बनाई कम तौलको ग्यास बेच्ने गिरोह प्रहरीले पत्ता लगाएको छ ।
अतिरिक्त पैसा कमाउने लोभमा उपभोक्तालाई ठगी गर्ने ग्यास बिक्रेतालाई मंगलवार प्रहरीले नियन्त्रणमा लिएको छ । पोखराको रानीपौवामा रहेको डिपोबाट ग्यास लिएर बजार लैजाने क्रममा पोखरा–१२ चापापानी स्थित कोठामा भरिएको ग्यास सिलिण्डरबाट खाली सिलिण्डरमा भर्दै अतिरिक्त सिलिण्डर तयार गर्दै गरेका एक जना पक्राउ परेका छन् । दुई जना फरार भएका छन् ।
कृति ईन्टरप्राईजेजबाट ट्याक्टरमा ग्यास लिएर चापापानी स्थित कोठामा भरिएको सिलिण्डरहरुबाट आंशिक रुपमा ग्यास अर्को खाली सिलिण्डरमा भर्ने र बजारमा ग्यासको मात्रा घटाएर बेच्न लैजाने गरेका चालक सञ्जय सुनार, समशेर लिम्बु र सुनिल लामा मध्य सुनिल लामा पक्राउ परेका हुन् । प्रहरी आएको थापा पाई उनिहरु भने भाग्न सफल भएका छन् ।
चाल सुनारकी श्रीमतिलाई प्रहरीले पक्राउ गरेको छ । सुनारले २५ सय रुपैया प्रति महिनामा कोठा भाडामा लिएर बिगत तीन महिनादेखि यस्तो कार्य गर्दै आएको पक्राउ परेका लामाले बताए । दैनिक ईन्टरप्राईजेजबाट ग्यास लिएर जाने र बिचमा तौल घटाएर अर्को सिलिण्डर बनाउदै बजारमा बेच्न लाने गरेको वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरिक्षक केशब बहादुर बस्नेतले जानाकारी दिए ।
स्थानियले खबर गरेपछि गएको प्रहरी टोलिले ३४ थान भरिएको सिलिण्डर, खाली सिलिण्डर ५ थान, ग १ थ ४२६ नम्बरको एउटा ट्याक्टर, रेगुलेटर ९ थान, सेतो क्याप २७ थान, सानो सिल याप ८१ थान, पेचस थान २, सानो चकु एक थान, रेञ्ची एक थान सहित ग् ४ प २१३२ नम्बरको मोटरसाईल बरामद गरेको छ ।
ईन्टरप्राईजेज धनि किरण श्रेष्ठले बिहान ३८ थान भरी सिलिण्डर बेच्नको लागि पठाएको बताए । बिगत ३ बर्षदेखि सुनार उनको काम गर्दै आएका थिए । बजारमा बेच्न लगेको ग्यास बिचमा यसरी अबैध रुपमा निकालिन्छ भन्ने बारे आफुलाई यसअघि कुनै जानकारी नभएको श्रेष्ठले बताए । उनले कोसी, शक्ति र गृहलक्ष्मी ग्यासको डिपो सञ्चालन गरिरहेका छन् ।
प्रहरी नियन्त्रणमा आएका लामाका अनुसार दैनिक एउटा अतिरिक्त ग्यास सिलिण्डर बन्ने गरेको थियो । त्यसको लागि भरिएको झण्डै २० सिलिण्डरबाट आंशिक रुपमा ग्यास निकाल्ने गरिएको थियो । सुनार तीन बर्षअघि पोखराको हस्पिटलचोकबाट यस्तै कार्य गर्दै गरेको अबस्थामा पक्राउ परेका थिए ।
कास्की प्रहरी प्रमुख बसन्त कुमार लामाले बजारमा तौल कम भएका ग्यास सिलिण्डर आउनुको कारण पत्ता लगाएको र यसमा अन्य गिरोह पनि संलग्न हुन सक्ने आशंका ब्यक्त गरेका छन् । ग्यास कम तौलको आउने, चाडै सकिने लगायतका गुनासो उपभोक्ताले गर्दै आएपनि त्यसको कारण भने खुलेको थिएन ।
पश्चिमाञ्चल क्षेत्रिय उद्योग ब्यापार संघका अध्यक्ष सञ्जिब बहादुर कोईरालाले ब्यबशायीले पनि आफ्ना कर्मचारीले गर्ने क्रियाकलापको बेला बेलामा छड्के अनुगमन गर्नुपर्ने खाचो औल्याएका छन् । अहिले पक्राउ परेका ब्यक्तिबाट अनुसन्धानको क्रममा अन्य गिरोह भए उनिहरुलाई पनि कारबाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ ।

