
काठमाडौं, असोज ११ – नेपाली क्रिकेट टोलीले एसियन गेम्समा कुवेतलाई ९ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ । योनहुई क्रिकेट मैदानमा भएको आजेको खेलमा नेपालसामु कुवेत मात्र २० रनमा समेटिएको थियो । टस जितेर पहिलो ब्याटिङ गरेको कुवेत नेपाली बलर सामु मात्र १३.२ ओभरमा टिकेको थियो ।
सोम्पाल कामीले माथिल्लो क्रमलाई तहसनहस पार्ने क्रममा ३ विकेट लिए भने बसन्त रेग्मीले पनि समान ३ विकेट लिएका थिए । त्यस्तै सागर पुनले २ विकेट लिए ।
कुवेतका लागि बस्ताकी फहदले ४ रन जोडेका थिए । यसका लागि उनले ३८ बलको सामना गरेका थिए ।
२१ रनको लक्ष्य लिएर मैदानमा उत्रेको नेपालले उक्त लक्ष्य केवल २.१ ओभरमा एक विकेट गुमाउँदै पछ्यायो । सुवास खकुरेल ७ मा अविजित रहे भने विनोद भण्डारी ५ रन बनाएर अविजित रहे । सागर पुन ९ रन जोड्दै आउट भएका थिए । नेपालले २ अंक हासिल गरेको छ ।
आइतबार यही मैदानमा नेपालले माल्दिभ्सको सामना गर्नेछ ।
