
काठमाडौं, असोज १२ / व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ एन्फा मा ५८ करोड १७ लाख १२ हजार रुपैयाँ अनियमितता भएको ठहर गर्दै अध्यक्ष गणेश थापालाई अध्यक्षको रुपमा काम कारवाही गर्न नदिन यूवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको आइतबार बिहान सिंहदरबारमा बसेको बैठकले एन्फा अध्यक्ष थापाले कानूनको ठाडो उल्लंघन गरी अनियमितता गरेका धेरैवटा घटना देखिएको निष्कर्षसहित थापालाई पदीय जिम्मेवारी वहन गर्न नदिन निर्देशन दिएको हो । एन्फाकै उपाध्यक्ष कर्माछिरिङ शेर्पासहितका केहि पदाधिकारीले उजुरी गरेपछि लेखा समितिले एन्फा भित्रको अनियमितता सम्बन्धमा अध्ययन गरेको थियो । समितिले एन्फाबाट प्राप्त कागजात र युवा तथा खेलकुद् मन्त्रालयले गरेको छानविनबाट एन्फाभित्र ५८ करोड १७ लाख १२ हजार ७ सय ५० रुपैयाँ अनियमितता भएको देखिएको ठहर गरेको छ ।
लेखा समितिले एन्फाभित्रको अनियमितता सम्बन्धमा छानविन सुरु गरेपछि राप्रपा नेपालले एन्फा अध्यक्ष गणेश थापालाई मन्त्री परिषद्मार्फत सभासद्मा मनोनयन गरेको थियो । राप्रपा नेपालका अध्यक्ष कमल थापाका सहोदर भाइ गणेश थापा पछिल्लो २० वर्षदेखि एन्फाको अध्यक्ष हुनुहुन्छ ।
समितिले अनियमितता सम्बन्धी प्रमाण नष्ट हुन नदिन एन्फा अध्यक्ष थापाको पदीय जिम्मेवारी स्थगन गरी वैकल्पिक व्यवस्था गरेर एन्फाको कामकारवाही संचालन गर्न युवा तथा खेलकुद् मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले एन्फा अध्यक्ष थापाले गरेको अनियमितता सम्बन्धमा गहिरो अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई समेत निर्देशन दिएको छ ।
लेखा समितिले आम्दानीको स्रोत लुकाएको, टेण्डर नै नगरी भौतिक पूर्वाधार निर्माणको काम गरेको, हुँदै नभएको कम्पनीको नाममा रकम निकासा गरेको लगायतका अनियमितताका थुप्रै घटना एन्फाभित्र भएको बताएको छ । समितिले खेलकुद् क्षेत्रको पुनर्संरचना गर्ने गरी ऐन कानुन बनाउन र खेलाडीहरुको संरक्षणका लागि योजना तर्जुमा गर्न पनि युवा तथा खेलकुद् मन्त्रालयलाई निर्देशन दिएको छ ।
