तीन जापानीलाई नोबेल पुरस्कार

Share:

असोज २२ – जापानमा जन्मेका तीन अनुसन्धाकर्ताहरूले एलइडी चिम विकास गरेवापत मङ्गलबार नोबेल भौतिकशास्त्र पुरस्कार प्राप्त गरेका छन् । उनीहरूको अनुसन्धानले पृथ्वीको तापक्रम बढ्न नदिने तथा गरिबीमा बाँचेको जनतालाई सहयोग गर्ने अपेक्षा गरिएको छ । यी तीन व्यक्तित्व इसामु आकासाकी, हिरोसी अमानो तथा हाल अमेरिकी नागरिक तथा क्यालिफोर्नियामा बसोबास गर्ने सुजी नाकामुरा रहेका छन् ।

नोबेल पुरस्कार समितिले यस वर्षको नोबेल पुरस्कार विजेताले नयाँ उर्जाप्रभावकारी तथा वातावरणमैत्री प्रकाशको स्रोत पत्ता लगागाउनुभएको उल्लेख गरेको छ । उहाँहरूको विकासलाई निलो प्रकाश प्रदायक डायड (लाइट इमिटिङ डायड – एलइडी) भनिन्छ । समितिले उहाँहरूको खोज क्रान्तिकारी भएको, २० औँ शताब्दीलाई अधिक चम्किलो हलुको चीमले प्रकाश दिएको र २१ औँ शताब्दीलाई एलइडी चिमले प्रकाश दिने उल्लेख गरेको छ ।

nobel-prize-in-physics

यी तीन अनुसन्धानकर्ताहरूले सन् १९९० को दशकमा अर्धसुचालकबाट चम्किलो निलो किरण उत्पादन गरेको र यसले प्रकाशजन्य प्रविधिलाई परिवर्तन गरिदिएको निर्णायक समितिले जानकारी दिएको छ । रातो तथा हरियो डायड निकै अगाडि विकास भएको तर निलो प्रकाश नभइकन सेतो चीन असम्भव भएको बताइएको छ ।

निलो एलइडीको विकासलाई चुनौती दिइएको र यो तीन दशकसम्म कायम रहेको बताइएको छ । निर्णायक समितिले यी अनुसन्धानकर्ताहरूले अरुले असफलता प्राप्त गरेको स्थानमा सफलता प्राप्त गरेको उल्लेख गरेको छ । समितिले एलइडी चिमको विकासले प्रकाशको पुरानो स्रोतले भन्दा बढी दीर्घकालीन तथा बढी प्रभावकारी विकल्प प्रदान गरेको उल्लेख गरेको छ ।

एलइडी चिमले चम्किलो सेतो प्रकाश प्रदान गर्छ र यो थोमस एडिसनले १९ औँ शताब्दीमा पत्ता लगाउनुभएको निकै चम्किलो हलुको चिमले खर्च गर्ने ऊर्जाभन्दा निकै कम ऊर्जामा दशौँ हजार घण्टा प्रकाश प्रदान गर्छ । हालसम्म विकास गरिएको एलइडी चिमले सामान्य हलुका चिमले भन्दा २० गुणा कम विद्युत खर्च गर्छ र यसको कार्यसम्पादनमा पनि निरन्तर रूपमा सुधार भईरहेको छ ।

विश्वमा उत्पादन हुने एक चौथाइ विद्युत प्रकाश उत्पादन गर्न प्रयोग हुन्छ र धेरै मुलुकमा सरकारले जैविक इन्धनबाट अनावश्यक ताप उत्पन्न हुन नदिन एलइडी चीम प्रयोग गर्न प्रयास गरिरहेका छन् । त्यसो त जैविक इन्धनलाई उर्जा उत्पादन गर्न बाल्ने गरिन्छ । एलइडी चिमलाई निकै कम विद्युत आवश्यक पर्ने भएकाले स्थानीय सौर्य शक्तिबाट पनि एलइडी बाल्न सकिन्छ । यसले विद्युतीय सञ्जालमा नआएका एक अर्ब ५० करोड जनतालाई फाइदा दिनसक्छ ।

निर्णायक समितिले एलइडीको विकास भएको २० वर्ष भए पनि यसले नयाँ तरिकाले सेतो प्रकाश उत्पादन गर्न निकै सहयोग गरेको र यसले सबैलाई फाइदा दिएको उल्लेख गरेको छ । नोबेल पुरस्कारका अन्य विजेताभन्दा फरक रूपमा नाकामुरालाई जापानको एउटा सानो कम्पनी निचिया केमिकल्सले नोकरीमा लगाएको थियो र उहाँले सोही समयमा यो अनुसन्धान गर्नुभएको थियो ।

नोबेल समितिले उनलाई टेलिफोनमा सम्पर्क गर्दा यो विश्वासै गर्न नसकिने घटना भएको बताएका थिए । यो नयाँ अनुसन्धान गर्दा अकासाकी अमानोसँगै नागोया विश्वविद्यालयमा काम गर्थे । अकासाकीको जन्म सन् १९२९ मा भएको हो र उनी हाल नागोयाको मेइजो विश्वविद्यालयमा प्राध्यापक हुनुहुन्छ । अमानो सन् १९६० मा जन्मेका हुन् र उनी नागोया विश्वविद्यालयमा प्राध्यापक छन् ।

नाकामुराको जन्म १९५४ मा जापानमा भएको हो र हाल उनी अमेरिकी नागरिक हुन् र सान्ता बारबरास्थित क्यालिफोर्निया विश्वविद्यालयमा प्राध्यापक छन् । विजेताहरूले ८० लाख स्विडिस क्रोनर (११ लाख अमेरिकी डलर वा आठ लाख ८३ हजार युरो) बाँडेर लिनेछन् ।

परम्पराअनुसार सन् १८९६ मा यस पुरस्कारका संस्थापक अल्फ्रेड नोबेलको देहावसान भएको दिन डिसेम्बर १० मा स्टकहोममा एक औपचारिक समारोहमा उनीहरूले यो पुरस्कार प्राप्त गर्नेछन् । रासस/एएफपी

कमेन्ट गर्नुहोस्
Share: