सृजना सामाजिक सेवा सम्मानबाट पराजुली सम्मानित

Share:

रञ्जन अधिकारी असोज, २५ पोखरा / सृजना विकास केन्द्र पोखराको ३५ औं वार्षिकोत्सवका अवसरमा सामाजिक सेवामा सक्रिय बसन्तकेशव पराजुली सृजना सामाजिक सेवा सम्मानबाट शनिबार सम्मानित भएका छन् । पोखरा बृद्धाश्रम, सीतापाईलाका अध्यक्ष रहेका पराजुलीलाई प्रमुख अतिथि विम्वकवि एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ रमेश श्रेष्ठ, संस्थाका अध्यक्ष राजु पौडेल लगायतले सम्मान गरेका हुन् । केन्द्रले हरेक दुई वर्षमा प्रदान गर्दै आएको सो सम्मानको राशी १५ हजार सहित सम्मान पत्र र दोसल्ला रहेको छ ।

कास्की जिल्लाको शिक्षा क्षेत्रको साथै ज्येष्ठ नागरिकहरुको हक हितका लागि क्रियाशील रहेको भन्दै उनलाई सम्मान गरिएको केन्द्रले जनाएको छ । सम्मानित व्यक्तित्व पराजुलीले सम्मानले आफूलाई थप हौसला मिलेको बताए । सो अवसरमा पोखरा ८ का १३ जना ज्येष्ठ नागरिकहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा ईश्वरी सिग्देल, टंकमाया खिचाजु, हरिलाल पौडेल, बैकुण्ठनाथ उपाध्याय, ऋषिराम उपाध्याय, मोति बहादुर श्रेष्ठ, हरिमाया बराल, सुत्रकला बराल, लिलामाया गिरी, वीरमाया ठुसाजु, ईश्वरी सिग्देल, एकनारायण खिचाजु र कौशिला बराल रहेका छन् ।

20141011_170156

वार्षिकोत्सवका अवसरमा केन्द्रले सम्मान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले केन्द्रले सृजना बहिरा विद्यालय, द्वन्द्वपीडित बालकालिकाको शिक्षा, लघुवित्त कार्यक्रम मार्फत् हजारौं महिलाहरुलाई आर्थिक क्रियाकलापमा संलग्न गराउँदै आएकोमा खुशी व्यक्त गरे । नेपाली काँग्रेस कास्कीका पूर्व सभापति शोभियत बहादुर अधिकारीले सामाजिक सेवाका क्षेत्रमा केन्द्रले उल्लेखनीय योगदान दिएको भन्दै राज्यले समेत स्थानीय स्तरमा यस्तो कार्य नगरेको दाबी गरे ।

संस्थाका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाजको सञ्जाल कास्कीका अध्यक्ष रामप्रसाद सुवेदी, ईन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेल, गैसस महासंघ कास्कीका अध्यक्ष गोपाल खड्का, केन्द्रका संस्थापक अध्यक्ष डम्बरबहादुर केसी, प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवर, जाल्पा महिला उद्धार समूहकी अध्यक्ष पवित्रा केसी, सिर्जना महिला बचत तथा ऋण सहकारीकी अध्यक्ष कमला गिरी लगायतले केन्द्रको गतिविधिको प्रशंसा गरेका थिए । कार्यक्रममा सम्मानित व्यक्तित्वको परिचय पूर्व अध्यक्ष विश्वकुमार बिजुक्छे तथा सञ्चालन सचिव शान्ति शर्माले गरेका थिए । सांस्कृतिक कार्यक्रममा बालकालिकाहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेको कार्यक्रम संयोजक ईन्द्र पौडेलले जानकारी दिए ।

केन्द्रले वार्षिकोत्सवकै अवसरमा शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा २० यूनिट रगत संकलन भएको संयोजक विश्व श्रेष्ठले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: