काठमाडौं, २६ असोज / प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले संविधानका मुख्य विवादित विषयमा प्याकेजमा छलफल गर्ने भएका छन् । राजनीतिक तथा संवाद समितिका सभापति डा. बाबुराम भट्टराईको समन्वयमा बसेको प्रमुख तीन दलको बैठकले कुनै निर्णय गर्न सकेन । आइतवार दुई चरणमा बसेको बैठकले एक–अर्काको सुन्ने मात्र काम भएको छ ।
आइतवार विहान सिंहदरवारमा बसेको बैठकले संविधानका विवादित विषयमा गंभिर छलफल गरेको र केही दिनभित्र सहमति जुटाउने दाबी गरेका थिए । बिहान ८ बजेदेखि तीन दलको बैठक भएको थियो । बिहानको बेठकमा कुनै निर्णय हुन नसकेपछि पुन बैठक बसेको थियो । सिंहदरवारमा ११ बजेदेखि बसेको बैठकमा कांग्रेस, एमाले र एमाओवादीले प्रमुख विवादित शासकीय स्वरुप, राज्य पुनर्संरचना र निर्वाचन प्रणालीमा अडानमा रहे । त्यसबीचमा द्विपक्षीय छलफलसमेत भएका थिए । एमाले–एमाओवादी र कांग्रेस–एमाओवादीबीच छुट्टछुट्टै बैठक बसेको थियो । ती सबै बैठकमा राज्यपुनर्संरचनाका विषयमा दलहरु लचिलो रुपमा प्रस्तुत भएका छन् । पहिचानमा आधारित १० प्रदेश बनाउनुपर्ने अडानमा लचिलो हुन एकीकृत नेकपा माओवादी तयार भएको छ । साथै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको सट्टा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री स्वीकार गरेर सहमति गर्न समेत सकिने एमाओवादीले बताएको छ ।
संवाद समितिका सभापति एवं एमाओवादी नेता डा. बाबुराम भट्टराईले सहमतिमा पुग्न बाँकी रहेको भन्दै सहमतिमा पुग्ने प्रयास जारी रहेको बताए । उनले आजको बैठकमा एक अर्काको प्रस्ताव सुन्ने काम भएको बताए । बैठकमा कांग्रेसले शनिवार आफूले प्रस्ताव गरेको ६/७ प्रदेशमा सहमति खोज्न प्रस्ताव गरेको थियो भने एमालेले भने संघीयताका विषयमा आफ्नो बटम लाईन सात प्रदेश रहेपनि पाँच प्रदेशखमा पनि छलफल गर्न तयार रहेको बताएको नेतहरुले जानकारी दिएका छन् । ‘सवैले लचिलो भएरै प्रस्ताव प्रस्तुत गरेका छन्,’ उनले भने, ‘सहमति भएको छैन ।’
बैठकबाट बाहिरिएका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रमुख विवादित शासकीय स्वरुप, राज्य पुनर्संरचना र निर्वाचन प्रणालीबारे छलफल भएको बताए । ‘सवै कोणबाट छलफल भएको छ,’ उनले भने, ‘छिचोलिएर छलफल हुन बाँकी छ ।’ बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले शासकीय स्वरुप र राज्यपुनर्संरचनामा दुई दलको साझा धारणा बनाइने बताए । पौडेलका अनुसार कांग्रेसले गरको सात प्रदेशमा एमाओवादी सकारात्मक छ । एमाओदीले सात प्रदेश बनाउने संयुक्त नामाकरण गर्नु पर्ने बताएको छ । पौडेलका अनुसार बैठक निकै सकारात्मक भएको छ ।
एमाले नेता माधव कुमार नेपालले पत्रकारहरुलाई तीन दिनसम्म घर गएर सुत्न सुझाए । उनले प्रमुख तीन दलको विहान पहिलो बैठकको समाचार संकलन गर्न गएका पत्रकारलाई यस्तो सुझाएका हुन् । ‘केही भएको छैन, कुराकानी भयो,’ उनले थपे, ‘तपाईंहरु तीन दिनसम्म घर गएर सुत्नुस् ।’ त्यस लगतै बाहिरिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि केही बताएनन् ।
१० प्रदेशको अडान छाड्न एमाओवादी तयार, कांग्रेसले ६ प्रदेश छाडेन, एमाले
पहिचानमा आधारित १० प्रदेश बनाउनुपर्ने अडानमा लचिलो हुन एकीकृत नेकपा माओवादी तयार भएको छ । साथै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको सट्टा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री स्वीकार गरेर सहमति गर्न समेत सकिने एमाओवादीले बताएको छ । एमाओवादी नेताले आफूहरु जातीय राज्यको पक्षमा नरहेको भन्दै १४ प्रदेशको साटो १० प्रदेश बनाउने आइतबारको बैठकमा प्रस्ताव गरेको छ । ‘१० प्रदेशभन्दा तल पनि छलफल गर्न सकिन्छ । तर, यसका लागि सरोकारबालासँग छलफल गर्नुपर्छ’ एमाओवादीका एक नेताले भने-”बहुपहिचानमा आधारित नाम राखौं वा त्यसो नगर्ने भए प्रदेश सभालाई निर्णय गर्न दिऔं ।’
तर, एमाओवादी लचिलो भए पनि कांग्रेसले संसदीय व्यवस्था र ६ प्रदेशको अडान नछाडेपछि आइतबार बसेको तीन दलका शीर्षनेताको बैठक सहमतिमा पुग्न सकेन । बैठकमा कांग्रेसले ६ प्रदेश बनाउने र प्रकृतिका आधारमा नामाकरण गर्नुपर्ने अडान दोहोर्याएको थियो । एमाले आफूले भन्दै आएको बहुपहिचान र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अडानबाट पछि हटेर कांग्रेसको लाइनमा उभिएको थियो ।
सहमति नभए सम्झौता गरौं : एमाओवादी
बैठकमा एकीकृत नेकपा माओवादीले सहमतिको संविधान बन्न नसक्ने भए सम्झौताको संविधान बनाउन प्रस्ताव गरेको छ । यसबारे जानकारी दिँदै एमाओवादीका एक शीर्ष नेताले भने- ‘सहमति नै हुन सक्दैन भने सम्झौता गरौं भन्ने हामीले प्रस्ताव राखेका छौं ।’
‘कार्यकारी प्रधानमन्त्री’ अब एमाओवादीको प्रस्ताव
प्रमुख तीन दलका शीर्षनेताहरुको बैठकमा एमाओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको सट्टा प्रधानमन्त्री मान्न सकिने बताएको छ । तर, कांग्रेसले सुधारिएको संसदीय व्यवस्थाको अडान छाडेन, जसलाई माओवादीले अस्वीकार गरेको छ । ‘माओवादी साथीहरुले वेष्ट मिनिष्टर प्रणाली कुनै हालतमा मान्य हुँदैन भनेका छन्’ पौडेलले भने ।
पूर्ण समानुपातिक पनि छाडियो
बैठकपछि एमाओवादीका एक नेताले दिएको जानकारी अनुसार सहमतिमा आउनका लागि भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अडानबाट एमाओवादी पछाडि हटेको छ । ‘बैठकमा हामीले बहुमतीय प्रत्यक्ष समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव गरेका छौं,’ एमाओवादी नेताले भने, एमालेका केही साथीहरु यसमा सकारात्मक देखिनुभएको छ, तर कांग्रेस प्रत्यक्ष निर्वाचन प्रणालीबाट टसको मस गरेको छैन ।’ आइतबारको बैठक सहमतिमा नपुगेपछि सोमबार दिउँसो २ बजे सिंहदरबारमा बस्ने अर्को बैठकमा सहमतिको प्रयास गरिने बताइएको छ ।
