नयाँ दिल्ली, असोज २६ – दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशको बन्दरगाह सहर भिसाखापत्तनममा आएको हुदहुद नामक सामुद्रिक आँधीबाट कम्तीमा दुई व्यक्तिको मृत्यु भएको अधिकारीहरूले आइतबार जनाएका छन् ।
ती दुई व्यक्तिको वर्षासँगै सम्बन्धित घटनाको कारण मृत्यु भएको वरिष्ठ प्रहरी अधिकारीले बताउनु भएको छ । सामुद्रिक आँधी प्रभावित यस क्षेत्रमा प्रतिघन्टा २०० किलोमिटर गतिले हावा चलेको बताइएको छ । सो आँधी प्रभावित क्षेत्रबाट करिब तीन लाख ५० हजार व्यक्तिलाई भारतीय नौ सेनाद्वारा विस्थापित गरिएको जनाइएको छ ।
सो आँधी प्रभावित आन्ध्रप्रदेशको पूर्वी राज्यमा माछा पालन व्यवसायमा लागेका हजारौँ व्यक्तिको बसोवास रहेको छ । आन्ध्र प्रदेशका सरकारी अधिकारी अभिन्द्रकुमारका अनुसार सम्भावित आँधीलाई मध्यनजर गरी सो क्षेत्रबाट तीन लाख व्यक्तिलाई विस्थापित गरिएको छ ।
त्यसैगरी छिमेकमा पर्ने राज्य ओडिसाबाट करिब ५० हजार व्यक्ति विस्थापित गरिएको उद्धार निकायका उप आयुक्त प्रभात मोहापत्राले बताउनु भएको छ । उडिसा राज्यमा गत वर्षमा आएको फाइलिन सामुद्रिक आँधीबाट कम्तीमा १८ व्यक्तिको मृत्यु भएको थियो ।
सन् १९९९ मा उडिसामा आएको सामुद्रिक आँधीबाट आठ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोे अध्यक्षतामा शनिबार अवेर राती यस आँधीलाई न्यूनीकरणको तयारीको आपतकालीन बैठक बसेको थियो ।
