रञ्जन अधिकारी / गोकुल बानियाँ पोखरा १ कार्तिक । अन्नपूर्ण पदमार्ग क्षेत्र सहित उच्च हिमाली भेगमा गत सोमबारदेखि परेको हिमपातमा ज्यान गुमाएकामध्ये ११ जनाको शव अझै घटनास्थलबाट उठ्न सकेको छैन । मौसम प्रतिकुलताका कारण हेलिकोप्टर जान नसक्दा उनीहरुको शव ल्याउन कठिनाई भएको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश थपलियाले जानकारी दिएका छन् ।
मनाङ, मुस्ताङ र म्याग्दीको हिमपातमा परी ३० जनाको ज्यान गएकामा शनिवार सम्म १९ जनाको मात्रै शब काठमाण्डांै लगिएको छ । ‘हिमपात पर्न नरोकिएकाले शब देखिएको स्थानमा हेलिकप्टर समेत बस्न सकेको छैन । स्थल मार्गबाट पनि उद्धार टोली जान सकेको छैन ।’ थपलियाले भने– ‘मनाङको नार र फु गाबिसमा १० शब अझैपनि घटनास्थलमै छन् ।’ मुस्ताङबाट १४ र म्याग्दीबाट ५ शब काठमाण्डौ लगिएको कार्यालयले जनाएको छ ।
घटनास्थलमा रहेका मध्ये शनिवार दुई शव पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याई हेलिकोप्टरबाटै काठमाण्डौ लगिएको अस्पतालका प्रहरी हवल्दार सुजन घिमिरेले जानकारी दिए । अन्नपूर्ण पदमार्ग क्षेत्रमा भेटिएका शव मध्ये एक जापानीज र एक भारतीयको सनाखत भएको हो । जापानका टाकानो जुन्को र भारतीय पर्यटक अनुप राय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यसैबीच, हिमपातमा फसेका मध्य शनिवार सम्म चार सय १३ जनाको उद्धार गरिएको छ । मनाङ, मुस्ताङ र म्याग्दी तीन जिल्लामा हिमपातमा परेका एक सय ७६ नेपाली र दुई सय २७ बिदेशी सहित चार सय १३ जनाको उद्धार गरिएको थपलियाले बताएका छन् ।
क्षेत्रीय प्रशासक थपलियाका अनुसार शनिबार दिउँसो सम्म मुस्ताङमा ७० नेपाली र ८३ बिदेशी सहित एक सय ५३, मनाङमा ९४ नेपाली र एक सय ५२ बिदेशी सहित दुई सय ४६ तथा म्याग्दीमा १२ नेपाली र दुई बिदेशी सहित १४ जनाको उद्धार भएको छ । अन्नपूर्ण पदमार्गमा खोजीकार्य लगभग सकिएको बताईएको छ ।
उपल्लो मुताङको साङ्देनमा भारी हिमपातमा फसेका तीन जनालाई शनिबार बिहान उद्धार गरिएको छ । तीन दिनदेखि अलपत्र अवस्थामा रहेका दुई स्वीस नागरिक र एक नेपालीलाई बिहान जोमसोम विमानस्थल ल्याईएको मुस्ताङ जिल्ला प्रशासनले जनाएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीका अनुसार डोल्पाको सिमाक्षेत्रमा तीन जनासँगै रहेका मध्ये बेपत्ता ९ जनाको खोजी भईरहेको छ । मनाङमा भने समस्यामा परेको जानकारी नआएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए । उनले अब बेपत्ताहरुको खोजी कार्यमा केन्द्रित रहने बताएका छन् । डोल्पा, हुम्ला र को उच्च हिमाली पदयात्रामा गएका विदेशी तथा नेपाली पदयात्रीहरु पनि सम्पर्कविहिन भएकोमा सम्पर्कमा आएको खबर प्राप्त भएको छैन ।
नेपाली सेनाले शुक्रबार नै थोराङपासको मुख्य मार्गलाई खुलाएपछि राहत मिलेको थियो । मुक्तिनाथ तर्फबाट हिउँ पन्छाएर बाटो खुलाएपछि अलपत्र ३९ पदयात्रीमध्ये ५ जनालाई हेलिकोप्टर र बाँकी हिँडेर मुक्तिनाथ तर्फ झरेको सेनाले जनाएको छ । हिमाली क्षेत्रमा प्रतिकुल मौषमका बिच खोजी र उद्धारको काम गर्नुपर्ने भएकाले समस्या भएको नेपाली सेनाका प्रबक्ता निरञ्जन श्रेष्ठले बताए । घटनास्थलमा देखिएका शब उठानुको साथै अन्यको खोजी र उद्धारको काम आईतवार पनि जारी रहने उनले जानकारी दिए ।
यसैबीच, उपचारका लागि शुक्रबार पोखरा ल्याईएकाहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । धवलागिरी फेरो सकेर मुस्ताङ हुँदै उपल्लो डोल्पा भएर पुनः उपल्लो मुस्ताङ निस्कने क्रममा दुई दिनसम्म हिँउले घेरिएका एक विदेशी र तीन नेपालीलाई उद्धार गरि पोखरा ल्याईएको थियो । गण्डकी मेडिकल कलेजमा उपचाररत स्वीस नागरिक अल्फ्रेड शुक्रबार नै डिस्चार्ज भएको र धादिङ कटुञ्जेका कुमार तामाङ शनिबार दिउँसो डिस्चार्ज भएको अस्पतालका प्रहरी सूर्य लम्सालले जानकारी दिए । अन्य दुई रसुवा राम्चेका सेते तामाङ र सेमनोर्वु तामाङ भने सामान्य थिए । ३५ दिने पदयात्रामा निस्केका यी चार जनाको टोलीमा ३ विदेशी र १३ जना नेपाली सहयोगी थिए । १६ जनामध्ये १२ जना बेखबर छन् । आठ जना त बेपत्ता नै भएको र अर्को समूहमा रहेका चार जना त्यतिबेला सास फेर्दै रहेको देखेपनि आफूहरु पनि समस्यामा परेकाले उनीहरुलाई केहि गर्न नसकेको कुमार तामाङले बताएका छन् ।
साहसिक पदमार्गको लागि प्रसिद्ध अन्नपूर्ण पदमार्गको सेरोफेरोमा व्यापक हिमपात भएपछि सुरक्षाको कारण देखाउँदै अहिले यात्रा बन्द गरेको अवस्था छ ।
यो मौसम पदयात्राका लागि सबैभन्दा अनुकूल रहेपनि भारतबाट आएको हुदहुद आँधीको प्रभावले नेपालमा यति ठूलो संख्यामा मानवीय क्षति पुगेको हो । सरकारले समयमै उद्धारका लागि आवश्यक पहल गर्न नसकेको गुनासो समेत पीडितहरुले गरेका छन् ।

