कात्तिक २, पोखरा । प्रधानमन्त्री सुशील कोइरालाले एक महिनाभित्र पोखरामा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास हुने बताएका छन् । आफूले विमानस्थल बन्ने स्थानकोसमेत निरीक्षण गरिसकेको बताउँदै प्रधानमन्त्री कोइरालाले जतिसक्दो छिटो विमानस्थलको शिलान्यास गरिने बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिको नेतृत्वमा डेलिगेशनका लागि आएको टोलीलाई आइतबार बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले विमानस्थलका लागि आफू प्रतिबद्ध रहेको बताए ।
‘पोखरामा जसरी पनि अन्तर्राष्ट्रिय विमानस्थल बनिछाड्छ,’ उनले भने, ‘अब सबै प्रक्रिया पुरा गरी एक महिनाभित्रमा विमानस्थलको शिलान्यास हुन्छ, ।’ पोखरामा विमानस्थल बनाउनका लागि प्रक्रिया मिलाउन आफूले अर्थमन्त्रीलाईसमेत निर्देशन दिइसकेको उनले जानकारी दिए ।
जतिसक्दो चाँडो पोखरामा विमानस्थल निर्माणका लागि पहल गरिदिन सरोकार समितिका संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले प्रधानमन्त्रीसँग आग्रह गरे । ‘पोखरामा विमानस्थल बनाउने अभियानमा सबै लाग्नुभएको छ,’ थापाले भने, ‘के कारणले विमानस्थल बन्न ढिलाइ भएको अध्ययन गरी जतिसक्दो चाँडो विमानस्थलको शिलान्यास हुनुप¥यो ।’ तिहार लगत्तै विमानस्थलको शिलान्यस गर्न थापाले प्रधानमन्त्री कोइरालालाई आग्रह गरे ।
नेपाली काँग्रेस कास्कीका सभापति तथा सभासद यज्ञबहादुर थापाले अब जतिसक्दो छिटो विमानस्थल निर्माणको काम सुरु हुनुपर्ने बताए । नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले विमानस्थल निर्माणका लागि पोखरेली सबै जनता एक भएको बताउँदै काम सुरु गर्न आग्रह गरे । एकीकृत नेकपा माओवादी कास्कीका अध्यक्ष दीपक कोइरालाले पश्चिमाञ्चलको समग्र विकासका लागि विमानस्थल आवश्यक रहेको बताए । नेकपा–माओवादी कास्कीका अध्यक्ष सावित्री दुराले देशकै विकासका लागि पोखरामा जतिसक्दो छिटो अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने बताइन् ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा दबाब दिन पोखराका उद्योगी व्यवसायी, सभासद, राजनीतिक दलका प्रमुखहरुको टोली शनिबार राजधानी आएको हो । टोलीले आइतबार बिहान विमानस्थल बनाउन दबाव दिन प्रधानमन्त्रीलाई भेट गरेको हो । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिकाका संयोजक विन्दुकुमार थापाको नेतृत्वमा टोली राजधानी आएको हो ।
यसैबीच, टोलीले विमानस्थल निर्माणमा पहल गर्नका लागि दबाब दिन अर्थमन्त्री डा. रामशरण महतसँग आइतबार नै भेट गरेको छ । भेटका क्रममा अर्थमन्त्रीले प्रक्रिया पुरा गरी तत्काल विमानस्थलको काम सुरुगर्ने प्रतिवद्धता व्यक्त गरे । मन्त्रीपरिषद् बैठकमा प्रस्ताव लगी अर्थमन्त्रालय तत्काल विमानस्थल निर्माणको काम सुरु गर्ने उनले बताए । त्यसैगरी, पर्यटनमन्त्री दीपकचन्द्र अमात्तेले पोखरामा विमानस्थल निर्माण गर्नका लागि कुनै समस्या नरहेको बताउँदै तत्काल काम हुने बताए । ‘सानोतिनो कुरामा नअल्झिकन पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्छ,’ उनले भने ।
टोलीले आइतबार नै एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादल र सचिव देव गुरुङलाई पनि आइतबार नै भेटेको छ । भेटका क्रममा सबैले नेताहरुले पोखरामा विमानस्थल बनाउनका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए । टोलीले सोमबार नेकपा एमाले अध्यक्ष केपी ओलीलगायतका नेतासँग भेट्ने कार्यक्रम रहेको सरोकार समितिका संयोजक विन्दुकुमार थापाले जानकारी दिए ।
विमानस्थल निर्माणका लागि सबै दलका नेता तथा सरकार सकारात्मक रहेको टोलीमा सहभागी पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्वप्रकाश लामिछानेले बताए । अब विमानस्थल निर्माण तत्काल सुरु हुने आशा जागेको राष्ट्रिय पर्यटन परिषद्का सदस्य खगराज आचार्यले बताए ।
तस्विरः विन्दुकुमार थापाको फेसबुक पेजबाट

