सरसफाइ पक्ष कमजोर हुँदा त्रिभुवन विमानस्थलको छवि खस्क्यो

361
0
Share:
काठमाडौं,कार्तिक १९ \त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छवि खस्कनुमा कमजोर सरसफाइ पक्ष कारक रहेको देखिएको छ। विमानस्थलमा जनशक्तिको अभाव तथा सरसफाइका लागि उचित व्यवस्था मिलाउने विषयमा विमानस्थल व्यवस्थापन र ठेकेदार कम्पनीबीच समन्वय नभएका कारण अन्तर्राष्ट्रिय विमानस्थलको छविमा बेलाबेलामा प्रश्न उठ्ने गरेको विमानस्थलमा कार्यरत कर्मचारीको ठहर छ।
tribhuwan airport
नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सफाइमा खटिएका कर्मचारीका अनुसार व्यवस्थापन र ठेकेदार कम्पनीले आपसी मिलेमतोमा कमजोर सामान प्रयोग गर्न लगाउने, माग भएको भन्दा आधामात्रै सरसफाइका सामान दिने, ट्वाइलेट पुछ्न प्रयोग हुने डस्टरले नै अन्य स्थानको भुइँ पुछ्नुपर्नेलगायतका समस्या छन्।
सरसफाइमा भएको समस्याका बारेमा विमानस्थल व्यवस्थापनलाई अवगत गराउँदा ठेकेदारले गाली गर्ने, धम्क्याउने तथा ड्युटीको विभाग नै परिवर्तन गरिदिने एक कर्मचारीले गुनासो गरे। उनले विमानस्थल र ठेकेदारको लापरबाहीका कारण सरसफाइका लागि आवश्यक पर्ने केमिकल तथा आवश्यक सामग्री सधैं अभाव हुने गरेको बताए।
विमानस्थल सरसफाइको जिम्मा पाएको स्वनिगा सर्भिसेजका अध्यक्ष सुवास श्रेष्ठले विमानस्थल व्यवस्थापनले आवश्यक जनशक्ति र गुणस्तरीय सामग्री नदिनु तथा स्तरीय सरसफाइ गर्न पुग्ने गरी बजेट निकासा नगर्नुले सन्तोषजनक काम हुन नसकेको बताए। विमानस्थमा रहेका २१ वटा शौचालय राम्ररी सफा राख्न एकजना नियमित खटिनुपर्ने हो भने क तीमा ७० जना चाहिन्छ’, श्रेष्ठले भने।
अन्तर्राष्ट्रिय विमानस्थलको सफाइका लागि स्वनिगाले एक सय २९ जना जनशक्ति पाएको छ। विमानस्थलमा न्यूतनम स्तर कामय राख्न कम्तीमा दुई सयजना आवश्यक रहेको श्रेष्ठले बताए। सरसफाइका लागि गुणस्तरीय सामान खरिद गर्न पनि विमानस्थल कार्यालयले आवश्यक बजेट उपलब्ध गराउन नसक्दा काम चलाउमात्रै हुने गरेको श्रेष्ठले नै स्वीकार गरेका छन्।
उनका अनुसार विमानस्थलका शौचालयमा आवश्यक पर्ने ट्वाइलेट पेपर मात्रै हरेक दिन ७० प्याकेट खपत हुन्छ। यस्तो पेपरको न्यूनतम तीन सय ५० रुपैयाँ प्रतिप्याकेटको दरले पनि २४ हजार पाँच सय रुपैयाँ पर्छ।
न्यूनतम स्तर कायम गरेर सरसफाइ गर्ने हो भने यस्तो पेपरमा मात्रै दैनिक ३० हजार रुपैयाँ खर्च हुने दाबी श्रेष्ठले गरे। विमानस्थल व्यवस्थापनले मासिक तीन लाख रुपैयाँमा नै सरसफाइ गर्नुपर्ने गरी बजेट दिएको छ। ‘यो रकमले मासिक नौ लाखको काम गर्नुपर्छ कसरी सकिन्छ’, श्रेष्ठले प्रश्न गरे।
विमानस्थलको भौतिक पूर्वाधार पनि सन् १९९० सम्मका यात्रुलाई दृष्टिगत गरेर बनाइएकोमा अहिले त्यति बेलाको भन्दा दोब्बर यात्रु आवतजावत हुन थालिसक्दा पनि विस्तार नहुँदा समस्या थपिएको तर्क श्रेष्ठको छ। १० वर्ष पहिलेको जनशक्तिबाट अहिले पनि सरसफाइ गर्नुपर्ने बाध्यता भएकोले सन्तोषजनक काम हुन नसकेको उनले बताए।
विमानस्थलमा सरसफाइ चुस्त दुरुस्त राख्न सुधार गर्नुपर्ने तथा कमजोर पक्षका बारेमा लिखित रूपमा नै पेस गरिएको भए पनि सुनुवाइ नभएको दाबी श्रेष्ठले गरेका छन्। व्यवस्थापनकै कमजोरीका कारण चाहेर पनि काम गर्न नसकेको श्रेष्ठ बताउँछन्। विमानस्थल कार्यालयले समन्वय नगरेकाले अब सम्झौता नवीकरण नगर्ने उनले बताए।
विमानस्थल सुधारका लागि एक साताअघि गृह मन्त्रालयका सहसचिव लक्ष्मी ढकालको संयोजकत्वमा शीघ्र समस्या सम्बोधन समूह गठन भए पनि यसले अझै काम सुरु गरेको छैन। समूह गठनको औपचारिक जानकारी सोमबारमात्रै पाएकाले काम अगाडि नबढेको ढकालले बताए।
उनका अनुसार सम्बन्धित मन्त्रालयका लागि यो समूहमा रहने प्रतिनिधिको माग भइसकेको छ। टोली काम सुरु गर्ने तयारीमा रहेको जानकारी ढकालले दिए। टोलीमा अर्थ, पर्यटन, परराष्ट्र र श्रम मन्त्रालयका प्रतिनिधि रहेका छन्। विमानस्थलका महाप्रबन्धक ऋषिकेशप्रसाद शर्मा सदस्यसचिव रहेका छन्।
सरसफाइ र टोलीले गर्ने कामका विषयमा जानकारी लिन खोज्दा महाप्रबन्धक शर्मा भने फाइल हेर्नुपर्ने भन्दै पन्छिए। उनले आफूलाई विमानस्थलको सुरक्षा र सफाइका विषयमा जानकारी नभएको बताए। उनी आफ्नै जिम्मेवारीको काममा पनि प्रवक्तामार्फत सोध्ने भन्दै पन्छिए।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रकुमार श्रेष्ठले भने विमानस्थलमा हुने सबै गतिविधिको जानकारी आफूकहाँ नआउने बताए। प्राधिकरणलाई जानकारी गराएर गर्नुपर्ने काममा पनि विमानस्थल प्रशासनले जानकारी नदिएको उनको भनाइ थियो। विमानस्थलले जानकारी नदिएकै कारण कतिपय विषय मिडियाबाट थाहा पाउने गरेको श्रेष्ठले बताए।
कमेन्ट गर्नुहोस्
Share: