सार्क सुरक्षाको जिम्मा नेपाली सेनालाई

311
0
Share:
काठमाडौं,कार्तिक २२/ सरकारले तीन सातापछि राजधानीमा हुने दक्षिणएसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अठारौं शिखर सम्मेलनका लागि सुरक्षाको प्रबन्ध मिलाउने मुख्य जिम्मा नेपाली सेनालाई दिने भएको छ।
nepali_35995
सार्क सदस्य राष्ट्रप्रमुख र सरकारप्रमुख सहभागी हुने सम्मेलनको सुरक्षा मामिलामा विशेषगरी भारत र पाकिस्तानले चासो देखाएपछि सम्मेलन अवधिभर सम्पूर्ण सुरक्षाको नेतृत्व सेनालाई दिने निर्णयमा सरकार पुगेको हो।
सेनाका बलाधिकृत रथी पवनबहादुर पाण्डेको संयोजकत्वमा सरकारले सार्क सुरक्षा समन्वय समिति गठन गरेको छ। समितिमा सेनाको युद्धकार्य महानिर्देशक उपरथी भिक्टरशमशेर राणा, नेपाल प्रहरीबाट एआईजी गणेश राई र विज्ञानराज शर्मा, सशस्त्र प्रहरीबाट एआईजी सिंहबहादुर श्रेष्ठ र प्रेम शाही, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अतिरिक्त अनुसन्धान निर्देशक दिलीप रेग्मी र गृह मन्त्रालयका सुरक्षा महाशाखा प्रमुख लक्ष्मीप्रसाद ढकाल सदस्य छन्। समितिको कार्यालय सैनिक मुख्यालयमा छ।
‘अहिले भारत र पाकिस्तानका सुरक्षा निकायका अधिकारीसँग छलफल गरी सुरक्षा रणनीति बनाउने काम भइरहेको छ’, सेनाका निमित्त प्रवक्ता निरञ्जनमान श्रेष्ठले अन्नपूर्णसँग भने, ‘सेनाको संयोजकत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी रहेको सुरक्षा समन्वय समितिले सार्क शिखर सम्मेलनभर सुरक्षा हेर्नेछ।’
मंसिर १० र ११ मा राजधानीमा सार्क सम्मेलन हुने भएकाले त्यसको एक साता अघिदेखि नै सुरक्षा रेखदेख सोही समितिको नेतृत्वमा हुनेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत केही देशका विशिष्ट पाहुना राजधानीबाहिरको भ्रमणमा जान इच्छुक भएकाले ती क्षेत्रको सुरक्षा नेतृत्व पनि सेनाले गर्नेछ। सैनिक स्रोतअनुसार अतिविशिष्ट पाहुनालाई ‘रिट्रिट’ दिने भनिएको धुलिखेलको सुरक्षा जिम्मा त्यहाँ रहेको सेनाको खड्गदल गणले लिनेछ।
मोदी जनकपुर, मुक्तिनाथ र लुम्बिनी जाने सम्भावना देखिएपछि त्यहाँस्थित गणलाई सुरक्षा रणनीतिबारे सेनाले सतर्क गराउँदै आएको छ। जनकपुरको सुरक्षा रणवीर गणले हेर्नेछ। मुक्तिनाथमा भीमदल गण र सेनाको सैनिक उच्चशिखर शिक्षालयले संयुक्त सुरक्षाप्रबन्ध गर्नेछन्।
लुम्बिनीको सुरक्षा बुटवलस्थित भवानीबक्स गणले गर्नेछ। राजधानीबाहिर सेनाको नेतृत्वमा त्यहाँको प्रहरी पनि सुरक्षामा सहभागी हुनेछ। मोदी मुक्तिनाथ जाने भएमा सेनाको हेलिकोप्टरले त्यहाँ पुर्याृउने सैनिक उच्च स्रोतले बतायो।
सेनाका प्यारा र कमान्डो फोर्स सार्क शिखर सम्मेलन अवधिभर अति विशिष्टहरूसँगै हुनेछन्। हवाईसुरक्षा पूर्ण रूपमा सेनाले हेर्ने र स्थल सुरक्षामा सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग सहभागी हुनेछन्।
गृह मन्त्रालयले भने सार्क सुरक्षा कार्ययोजना तयार गर्ने गरी समिति गठन गरिएको बताएको छ। सार्कको सम्पूर्ण कार्ययोजना बनाउन उक्त समिति सक्रिय हुने समितिका सदस्यसमेत रहेका गृह प्रवक्ता ढकालले बताए।
विशिष्ट पाहुनाहरूको सुरक्षाको पहिलो घेरामा सम्बन्धित देशका कमान्डो हुने र त्यसपछि सेनाका कमान्डो रहने गरी सुरक्षाको बन्दोबस्ती गरिनेछ। सुरक्षाको बाहिरी घेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरी हुनेछन्। सुरक्षाको सम्पूर्ण सूचना आदानप्रदान जंगीअड्डामा रहेको सुरक्षा समन्वय समितिले गर्नेछ।
उक्त सुरक्षा समितिसँगै बसेर भारत र पाकिस्तानबाट आएका सुरक्षा अधिकारीहरू पनि रणनीति बनाउन सक्रिय छन्। ‘भारत र पाकिस्तानबाट आएका सुरक्षा अधिकारीहरूसमेत सहभागी भएर सुरक्षा रणनीति तय हुँदैछ’, सेनाका निमित्त प्रवक्ता श्रेष्ठले भने।
विशिष्ट पाहुनाहरूको सुरक्षाको पहिलो घेरामा सम्बन्धित देशको कमान्डो र त्यसपछि सेनाको कमान्डो रहनेछन्। सुरक्षाको बाहिरी घेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरी हुनेछन्।
कमेन्ट गर्नुहोस्
Share: