संविधानसभा पुनः विघटन भए मुलुकमा भयानक दुर्घटना : दाहाल

Share:

काठमाडौं, मंसिर २ । प्रमुख विपक्षी दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तोकिएकै समयमा लोकतान्त्रिक संविधान जारी हुने विश्वास व्यक्त गरेका छन् । नेपाल पत्रकार महसंघको प्रतिनिधिमन्डलसँग मंगलबार बिहान आफ्नै निवास लाजिम्पाटमा भएको भेटमा उनले दोस्रो संविधानसभा पुनः विघटन भए मुलुक भयानक दुर्घटनामा जाने चेतावनी दिए ।
prachanda
सहमतिको संविधान जारीगर्नुको विकल्प नभएको दाहालको भनाइ थियो ।

सत्ताधारी दल कांग्रेस र एमाले सहमतिको प्रयास छाडेर प्रक्रियाबाट संविधान जारी गर्न लागेको भन्दै दाहालले प्रक्रियाबाट ल्याएको संविधानले मुलुकमा थप संकट निम्त्याउने भविष्यवाणी पनि गरे ।

पहिचानसहितको संघीयता, समानुपातिक समावेशी, प्रतिनिधित्व प्रणालीका विषयमा दलहरुबीच गम्भीर छलफल भइरहेको जानकारी दिँदै उनले कांग्रेस र एमाले सहमतिबाट भाग्न खोजेको आरोप लगाए ।

दलहरुलाई पार्टीगत रणनीतिलाई छाडेर आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न भूमिका खेल्न दबाब दिन उनले पत्रकारहरुलाई आग्रह गरे । त्यसो भएमात्र लोकतान्त्रिक संविधान बन्ने उनको भनाइ थियो ।

सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले संविधानका विवादित विषयमा सहमति जुटाउन आग्रह गरे । उनले पछिल्लो समयमा दलहरुबीच बढेको दुरीले तोकिएकै समयमा संविधान जारी हुने कुरामा आशंका गर्दै फेरि पनि संविधान जारी हुन नसके मुलुक भयानक दुर्घटनामा फस्ने भएकोले गम्भीर बन्न आग्रह गरे ।

महासंघले ‘नेपाली जनतासँग गरेको वाचा नतोडौं, २०७१ माघ ८ भित्रै संविधान निर्माण गरौं’ भन्ने आह्वानसहित विशेष अभियान सञ्चालनन गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: