कास्कीमा एक घर एक धारा अभियानको प्रस्ताव

Share:

पोखरा, ९ मंसिर
जिल्ला विकास समिति कास्कीको पूर्व योजना तर्जुमा गोष्ठीमा एक घर एक धाराको प्रस्ताव गरिएको छ । यो कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्न र सकेसम्म एक बर्षभित्रै सम्पन्न गर्न प्रस्ताव गरेका हुन् ।
आगामी बर्ष सडकको नयाँ ट्रयाक खन्ने काम भने पूर्ण रुपमा अन्त्य गर्न पनि प्रस्ताव गरिएको छ । जिल्लाका सबै गाविस भवनसम्म सडक सञ्जाल पुगिसकेकाले अब नयाँ सडक नखन्ने र भएका सडकलाई बाह्रैमास सञ्चालन गर्ने गरि स्तरोन्नती गर्ने प्रस्ताव गरिएको हो । यस्तै, अबण्डा बजेट नराख्न, क्रमागत योजनाको भार कम गर्न, २ लाख भन्दा साना योजना गाविसबाट सञ्चालन गर्न, छिटो लाभ दिने खालका योजनामा बजेट विनियोजन गर्न पनि सहभागीहरुले सुझाव दिएका छन् ।
गोष्ठीले जिल्ला विकास समिति कास्कीको दीर्घकालिन नारा परिवर्तन गर्ने लगायत अन्य पाँच बुँदे निर्णय पनि गरेको छ । जिल्ला विकासका लागि सबैभन्दा पहिले दीर्घकालिन सोच लिनुपर्ने र सोही अनुसार कार्यक्रम कार्यान्वयन गर्न सके छिटो विकास हुने भएकाले नारालाई परिबर्तन गरिएको राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् ।
यसअघि भएको कृषि, पर्यटन, रोजगार र पूर्वाधारः कास्की विकासका चार आधारलाई परिबर्तन गरी कृषि, पर्यटन, जलश्रोत र पूर्वाधार ः समृद्ध कास्कीको चार आधार भन्ने नारा तय गरिएको हो । जिल्लामा पूर्वाधार विकास र विस्तार भएपछि रोजगार आँफै सिर्जना हुने भएकाले नारामा रोजगारलाई राख्नु उचित नहुने कार्यक्रमका सहभागीहरुले सुझाव दिएका थिए । सहभागीहरुकै सुझावको आधारमा नारा परिवर्तन गरिएको जिल्ला विकास समिति कास्कीका योजना अनुगमन तथा प्रशासकिय अधिकृत कृतनराज पौडेलले बताए ।
यसैबीच, जिल्ला विकास समिति कास्कीका लेखा अधिकृत हरि पंगेनीलाई बिदाई गरिएको छ । बुधबारदेखि सिचाईं मन्त्रालयमा काम गर्ने गरि सरुवा भएका अधिकृत पंगेनीको मंगलबार जिल्ला विकास समितिमा एक कार्यक्रमको आयोजना गरी बिदाई गरिएको हो । पंगेनी २०६९ जेठ १ गते कास्की जिविसमा लेखा अधिकृतको रुपमा आएका थिए । अहिले कास्की जिविसको लेखा अधिकृतमा जयराम पौडेल आएका छन् ।
जिल्ला प्राविधिक कार्यालयको लेखा शाखामा १२ बर्षदेखि निरन्तर काम गर्नुभएका भेषराज पौडेललाई पनि मंगलबार नै बिदाई गरिएको छ । यसैगरी जिविसको उर्जा तथा बातावरण शाखामा आएका उर्जा तथा वातावरण अधिकृत आशिषमणी लामिछानेलाई स्वागत गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: