सार्कको १८ औं शिखर सम्मेलन काठमाडौंमा

447
0
Share:

काठमाडौं, १० मंसिर
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको १८ औं शिखर सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदैछ । सार्क स्थापनाको तीन दशकको अन्तरालमा नेपालले तेस्रोपटक शिखर सम्मेलनको आयोजना गर्ने अवसर पाएको हो ।
शिखर सम्मेलनका तयारीका क्रममा यसअघि सार्क कार्यक्रम समिति सहसचिवस्तर, स्थायी समिति सचिवस्तर हुँदै मन्त्रीस्तरीय बैठक भएका छन् । सम्मेलनको नारा ‘शान्ति र समृद्धिका लागि गहन एकता’ तय गरिएको छ । सम्मेलनमा भाग लिन सार्कका सातवटै मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख हिजै काठमाडौं आइसकेका छन् ।
सम्मेलनको उद्घाटन आज बिहान राष्ट्रिय सभागृहमा विशेष समारोहका बीच प्रधानमन्त्री सुशील कोइरालाले गर्नेछन् । सम्मेलनले काठमाडौँ घोषणापत्र जारी गर्नेछ ।
सम्मेलनको पूर्वसन्ध्यामा हिजो भएको सार्क मन्त्रिपरिषद्को ३६ औँ बैठकमा प्रारम्भमा तस्बिर, तथ्याङ्क र रेखाचित्रयुक्त गरिबी निवारण तथा सार्क विकास लक्ष्य प्राप्तिमा उत्कृष्ट कार्य प्रगतिको प्रतिवेदन, पोषणका लागि क्षेत्रीय संरचना, सरसफाइसम्बन्धी कार्यसंरचना र आर्थिक सङ्घका लागि भावी कदम प्रतिवेदन प्रस्तुत भएको छ । चीन, अमेरिका, दक्षिण कोरिया, मोरिसस, युरोपियन युनियनलगायत नौवटै पर्यवेक्षक मुलुकका प्रतिनिधि पनि काठमाडौं आइसकेका छन् ।
परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले १८औँ शिखर सम्मेलनको सर्बै तयारी पूरा भइसकेको जानकारी दिए । नेपालले १३ वर्षअघि २०५८ साल पुसमा ११ औँ शिखर सम्मेलन आयोजना गरेको थियो भने पहिलोपटक २०४४ साल कात्तिकमा पहिलोपटक तेस्रो शिखर सम्मेलन आयोजना गर्ने अवसर पाएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: