रञ्जन अधिकारी पोखरा, १० मंसीर / सवारी चालककै लापरबाहीका कारण लगातार ठूला दुर्घटना भईरहेको समाचार आईरहँदा पोखरामा ट्रक चालकहरुलाई एक दिने वृहत प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिले आबद्ध ट्रकका चालक तथा सहचालकहरुलाई बुधबार प्रशिक्षण दिएको हो ।
चालकहरुलेतीब्र गतिमा सवारी चलाउने, ओभरटेक गर्ने गरेका कारण दुर्घटनाको सामना गर्नुपर्ने परेकाले उनीहरुलाई त्यसो नगर्न सुझाव दिँदै सवारीको ब्रेक, स्टेयरिङ, टायरको अवस्था ठिक भए नभएको चेकजाँच गर्न, ओभरलोड नबोक्न सजग गराईएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरिक्षक राजेन्द्र कार्कीले तीन ‘ओभर’ ओभर स्पिड, ओभर टेक र ओभर लोड भएर नै सवारी दुर्घटनामा पर्ने गरेकाले चालकहरु गम्भीर बन्न आग्रह गरे ।

तीन सय बढि चालक÷सहचालकको उपस्थिति रहेको कार्यक्रममा सई कार्कीले जनशक्ति अभावका बाबजुत कास्की जिल्लामा ट्राफिक प्रहरीले उत्कृष्ट जिम्मेवारी बहन गरिरहेको बताउँदै सवारीचालक तथा यात्रुले पनि सवारी नियम पालना गर्न आग्रह गरे । अहिलेसम्म भएको सवारी दुर्घटनामा प्रायः चालककै लापरबाही हुने गरेकाले आफू पनि नमरौं, अरुलाई पनि नमारौं भन्ने कुरालाई मनन गरी सवारी चलाउन अनुरोध गरे ।
प्रशिक्षण शुभारम्भ कार्यक्रममा बोल्दै गण्डकी धौलागिरी सार्वजनिक यातायात व्यवसायी समन्वय समितिका अध्यक्ष बसन्त प्रधानले दुर्घटनाको मुख्य कारण सवारी भएको र त्यसपछि मात्रै सवारी साधनको अवस्था र चालकको स्वभाव रहेको दाबी गरे । उनले ओभरटेक, ओभरलोड र ओभर स्पिड नगर्न आग्रह गरे ।
नेपाल यातायात स्वतन्त्र मजदुर यूनियन, कास्कीका विष्णु खत्रीले चालकलाई बढि सजाय दिए दुर्घटना कम हुन्छ भन्ने अर्थहीन नियम बने आफूहरुले विरोध गर्ने बताए । उनले चालकले पनि सबैको ज्यानको रक्षा गर्ने जिम्मेवारी बहन गरेकाले पेशागत मर्यादाको ख्याल गर्न आग्रह गरे ।
नेपाल यातायात स्वतन्त्र मजदुर संघका जीत गुरुङले सवारी पाटपूर्जाको अवस्था पनि ख्याल गर्न आग्रह गर्दै मोबाईलमा कुरा गर्दै सवारी नचलाउन सुझाव दिए । उनले सबै दोष चालकलाई थुपार्ने मानसिकता पनि गलत भएको उल्लेख गरे ।
अखिल नेपाल यातायात स्वतन्त्र मजदुर संघका सूर्यमणि लामिछानेले राज्यले मजदुरलाई हेर्ने दृष्टिकोण नै सकारात्मक नरहेको उल्लेख गर्दै मजदुरको हितमा सोच्न आग्रह गरे । मजदुरकै बलमा सत्तामा पुगेपछि मजदुरलाई हेर्ने नीति पनि सकारात्मक बनाउन उनको सुझाव थियो ।
ट्याक्सी व्यवसाय समिति पोखराका अध्यक्ष गान्धीराज गिरीले यातायात क्षेत्रका लागि राज्यको ठोस नीति नै नहुँदा समस्या आएको भन्दै पोखरामा पार्किङ क्षेत्र बारे गम्भीर भएर सोच्न सरोकारवालालाई आग्रह गरे । ‘महेन्द्रपुल देखि बिपीचोक हुँदै सभागृह र सृजनाचोक सम्म दोहोरो पार्किङ गर्न नगरपालिकाले टेण्डर नै लगाएर कच्चा निर्णय गरेको अवस्था छ ।’ उनले भने– ‘यसो हुँदा सडक फराकिलो पार्ने योजना सफल हुन्छ ? २५ रुपैंया काटेर दिनभर रोडमा बस, ट्याक्सी तेसारेर राख्न पाउने हो ? किन राख्ने हामी बसपार्कमा ?’
कार्यक्रमको अध्यक्षता समेत गरेका गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिका अध्यक्ष दयाराम भारतीले हरेक वर्ष प्रशिक्षण दिँदै आएकोमा पछिल्लो क्रममा बढि सवारी दुर्घटना भएकाले वृहत रुपमा कार्यक्रम गरिएको बताउँदै चालकहरुलाई यसबाट फाईदा पुग्ने विश्वास लिए । सचिव रामबहादुर तामाङ (शिवु) ले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष खड्ग बहादुर बिकले स्वागत गरेका थिए ।
