
पोखरा, ११ मंसिर ।
पोखरामा चलिरहेको राष्ट्रिय औद्योगिक व्यापार मेला बिहीबार आठौं दिन पनि जारी छ । मेलामा अहिलेसम्म ११ करोड ५० लाखको कारोबार र १ लाख ३५ हजारले मेलाको अवलोकन गरेका आयोजक पोखरा उद्योग वाणिज्य संघका महासचिव रविन्द्रबहादुर प्रजुले जानकारी दिए ।
मेलामा आजपनि विभिन्न प्रतियोगितात्मक कार्यक्रम हुनेछन् भने ख्यातीप्राप्त कलाकारले दर्शकलाई दिनभरी नै मनोरञ्जन दिनेछन् ।
मेलामा आजबाट विद्यालय, कलेज र शैक्षिक संघ÷संस्थाबाट मेला अवलोकन गर्न समूहमा आउने अवलोकनकर्ताहरुका लागि प्रवेश टिकटमा ४० प्रतिशत र बाल उद्यानको प्रवेश टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको संघका अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए ।
यस्तै, मेलामा आजबाटै शारिरीक सुगठन प्रतियोगिता शुरु हुँदैछ । साँझ ५ बजेबाट सुरु हुने सुगठन प्रीतयोगिता दर्शकहरुको आकर्षणको केन्द्र बन्ने अनुमान गरिएको साँस्कृतिक उपसमिति संयोजक पवनकुमार प्रजापतिले जानकारी दिए । आज पोखरेली माग्ने बूढा र धुर्मुस एवं शिव शर्माको हाँस्य प्रस्तुति, लोक दोहोरीका चर्चित कलाकार, अन्तर दोहोरी साँझ दोहोरी प्रतियोगिता, कौशल्या गुरुङसहितका कलाकारको प्रस्तुतिले पनि अवलोकनकर्तालाई मनोरञ्जन दिने आयोजकको अपेक्षा छ ।
मेलामा राखिएको बिग एफएमको स्टलमा पनि श्रोता सर्वेक्षण फर्म भर्नेहरुको भीड बढ्दै गएको छ । एफएमले आफ्ना स्रोताहरुसंग सुभाव संकलन गर्ने उद्धेश्यले मेलामा फाराम भर्ने व्यवस्था मिलाएको छ । मेलामा उपस्थित स्रोताहरुले रेडियोको कार्यक्रम, न्युज तथा अन्य कार्यक्रमहरुको बारेमा सुझाव दिएका छन् । मेला अवधिभर एफ.एमले फाराम भर्ने स्रोताहरुको तर्फ बाट दैनिक दुई जना स्रोतालाई लक्की ड्र का आधारमा कार्वन मोवाईल उपहार प्रदान गर्नेछ ।
