गढीमाई (बारा), मंसिर १२/ पाँच बर्षे गढीमाई मेलामा शुक्रबार भाकलका पाँच हजार राँगालाई बली दिइएको छ । नेपाल भारतका श्रद्धालुद्वारा ल्याइएका राँगा गढीमाईको पुजन विधिसँगै पञ्च बलि दिएपछि राँगाको बली दिइएको हो । राँगाको मार हान्न साढे चार सय तरबारधारीलाई लाइसेन्स दिइएको थियो । अघिल्ला वर्षका तुलनामा यसपालि तिर्थालु बढे पनि बलीका राँगा भने निकै घटेको हो ।
तिर्थालुको आवागमन र भीडले झन्डै ३० विघाको मेला क्षेत्र भरेको देखिन्थ्यो । विगतका चार पटकको मेला भन्दा बढी तिर्थालुहरु ओइरिएका मेला समितिले दाबी गर्यो । ‘पछिल्ला मेलामा द्वन्द्वको अवस्था भएको र अहिले कतैबाट बाधा अवरोध नभएकाले तिर्थालु बढेको मेला समितिका अध्यक्ष रामचन्द्र साहले बताए । गढीमाईमा पशु बली दिन राँगा नपठाउन भन्दै भारतीय अदालतले आयातमा रोक लगाएको तथा बली विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा आवाज उठेकाले राँगा घटेको गढीमाई बली व्यवस्थापन उपसमितिका सहसंयोजक प्रेमप्रसाद साहले जानकारी दिए । अघिल्लो मेलामा साढे सात हजार भाकलका राँगा आएको थियो ।
राँको टाउको र मासु शनिवारदेखि बधशाला स्थलमा गाडिने बली व्यवस्थापन समितिका उप-संयोजक साहले बताए । पहिलो दिनको बलिको मासु भने उठेन । ठेकेदारले राँको १ करोड साठी लाखमा ठेक्का लिएका थिए । दलित समुदायहरुले बलिका मासु लैजानमा रोक लगाएपछि मासु बली दिइएका राँगा उठ्न नसकेको उनको भनाइ छ । ठेकेदारले दर्जन भन्दा ढुवानीका साधन र मासु ओसारपसार गर्न एक हजार ५ सय मजदुर परिचालन गरेको थियो ।
मेलामा २ को मृत्यु
गढीमाई मेलामा शुक्रवार बृद्धा र एक बालिका गरी दुई जनाको मृत्यु भएको छ । भारत छाप्रा बनियापुरका माका तिवारीका एक वर्षीया बालिकाको चिसोले मृत्यु भएको छ । उनकी आमा काखमा लिएर सुतिरहेका बेला बालिका अचेत भएपछि स्वास्थ्य शिविरमा उपचारको लागि लगेलगत्तै चिकित्सकले मृत्यु भएको बताएका थिए ।
यसैगरी गढीमाई मन्दिरमा दर्शन गर्ने क्रममा भारत सितामढी भवदेव १५ का ६५ वर्षीया पानकुमारी देवीकी भीडले किचिएर मृत्यु भएको हो । मृतक दुबैको शव मुचुल्कापछि परिवारले बुझेर लगेको प्रहरीले जनायो ।
मन्दिरमा दर्शन गर्ने व्यवस्थापन व्यवस्थित नहुँदा भीडमा च्यापिएर उनी भुईंमा लडेकी थिइन् ।
Photo : ekantipur.com

