कास्कीका शिक्षणसंस्था आजपनि बन्द

Share:

नवराज ढुङ्गाना
पोखरा, १४ मंसिर
कास्कीमा क्रियाशिल विभिन्न विद्यार्थी संगठनले आजपनि शैक्षिक संस्था बन्दको आव्हन गरेका छन् ।
पक्राउ परेका अखिल क्रान्तिकारीका कार्यकर्ता नेत्र चापागाईंको रिहाई र अवैधानिक शैक्षिक संस्था बन्दको माग राखेर आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरुले आज दोश्रो दिन शैक्षिक संस्था बन्द गराएका हुन् । बन्दका कारण पोखरामा आज बिहान पढाई हुने क्याम्पस तथा विद्यालयमा पठनपाठन ठप्प छ ।
विद्यार्थीहरुले अस्ति शुक्रबार पनि शैक्षिक संस्था बन्दको आव्हन गरेका थिए । माग सुनुवाई नभए भोलीदेखि आम हड्तालमा उत्रिने अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष कृष्ण दाहालले चेतावनी दिए ।
समस्या समाधानका लागि अहिले बिहान १० बजे जिल्ला प्रशासन कार्यालय कास्कीमा विद्यार्थी संगठन, राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीबीच वार्ताको तयारी छ ।
शुक्रबार भएको वार्तामा कास्कीका प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीले आजदेखि अवैधानिक शैक्षिक संस्था बन्द गर्न प्रक्रिया सुरु गर्ने बताएका थिए । आजपनि विद्यार्थीहरुले सोही माग राखेर शैक्षिक संस्था बन्दको आव्हन गरेपछि, दुवै निकाय जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई जसरी पनि अवैधानिक शैक्षिक संस्था बन्द गर्न प्रक्रिया थाल्नका लागि थप दवाव पुगेको छ ।
कास्कीमा करिब डेढ सयको हाराहारीमा बोर्डिङ्ग स्कूल, मन्टेश्वरी, होस्टेल तथा ट्युसन इन्स्टिच्युट विना अनुमति सञ्चालित छन् ।

कमेन्ट गर्नुहोस्
Share: