प्रहरी गाडी ठक्करले घाइतेको उपचार भएन

Share:

केशवशरण लामिछाने पोखरा १७ मंसीर /सडकमा सवारी साधनको ठक्करबाट घाइते हुँदा ठक्कर दिने साधनको धनीले घाइतेको उपचार गरिदिनुपर्छ। यही नियमलाई पालना गर्न सार्वजनिक यातायातका धनीहरु मिलेर कोश नै खडा गरेका हुन्छन्। निजीको भने व्यक्तिगत रुपमै खर्च व्यहोर्ने चलन छ। अझ यस्तो घटना हुँदा हुने खर्चको जोहो गर्न भनेरै सरकारले तेस्रो पक्ष बिमाको व्यवस्था गरेको हो।

10845998_625689690890141_7695701312984207894_nदुर्घटना हुँदा पीडितलाई न्यायका लागि पहल गर्ने निकाय प्रहरीको गाडीले नै कसैलाई ठक्कर दियो भने त घाइतेले झन् बेलैमा उपचार पाउनुपर्ने हो। तर कास्की प्रहरीको गाडीले ठक्कर दिएर दुई युवा भने उपचार नपाएर वितारा परेका छन्।

सम्भावित एउटा दुर्घटना टार्न खटिएका प्रहरी बोकेर स्पिडमा कुदेको भ्यान आफैं मंसिर ११ गते पोखरा—२ नदीपुरमा दुर्घटनामा परेको थियो। उक्त दिन महेन्द्रपुलतिरबाट गइरहेको भ्यानले बगरबाट आएर नदीपुर भिसीमार्गतिर छिर्न आँटेको ग७ प ४९८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। जिल्ला शिक्षा कार्यालयमा विद्यार्थीले आन्दोलन मच्चाएकाले त्यसलाई मत्थर पार्न हिँडेका प्रहरी बोकेको भ्यानको ठक्करले मोटरसाइकल चलाइरहेका हुमबहादुर गाहामगर र कमल थापामगर घाइते भएका थिए।

गाडीको ठक्करले दुवैको देब्रेखुट्टा भाँच्चिएको छ भने थापाको हात पनि भाँच्चिएको छ। उनीहरु दुवै घाइते हुनासाथै प्रहरीले मणिपाल अस्पताल भर्ना गरेको थियो। प्रहरीले पनि खर्च नदिएको र आफूसँग पनि आर्थिक अभाव भएकाले उनीहरु उपचार नगरी ५ दिनसम्म त्यही अस्पतालको बेडमा छटपटिइरहे। प्रहरीले मणिपाललाई अनुरोध गरेर निशुल्क उपचार मिलाउने आश्वासन दिएको थियो। तर आश्वासन पूरा नभएपछि उनीहरु मंगलबारदेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सरेका छन्। त्यहाँ पनि बुधबारसम्म उनीहरुको अप्रेसन भएन।

कास्की प्रहरी प्रमुख वसन्त लामा आफूहरुसँग त्यस्तो घटनामा उपचार गराउने कोश नहुने बताउँछन्। ‘तर दोष जसको भए पनि हामीले उपचारको व्यवस्था मिलाउँदैछौं,’ उनले नागरिकसँग भने। सरकारी स्वामित्वको क्षेत्रीय अस्पतालमा निशुल्क उपचारको व्यवस्था मिलाउने प्रयास गरिएको आश्वासन फेरि उनीहरुले पाइरहेका छन्। पीडा सहँदै त्यही आश्वासनका भरमा अस्पतालमा उनीहरुको बसाइ लम्बिँदो छ।

स्याङ्जा पक्वादीका २३ वर्षे हुमबहादुर र राङभाङका २० वर्षे कमल नदीपुरमा नजिकै बस्छन्। कमल पृथ्वीनारायण क्याम्पसमा स्नातक तह पढ्दैछन् भने हुमले मोबाइल मर्मतको तालिम लिइरहेका छन्। ‘प्रहरीलाई दोष लगाएर उपचार नगरी बस्न मन त थिएन,’ कमलका पिता तुलबहादुर थापाले भने।

injured-boys-@-hospital

मणिपालमा भएको प्रारम्भिक उपचार र एक्सरे रिपोर्ट अनुसार घाइते दुवैको मेजर अप्रेसन गर्नुपर्छ। अप्रेसन गरेर खुट्टामा स्टिलको रड राख्नुपर्ने चिकित्सकले सुझाएका छन्। एउटै रडको १५ हजार र अप्रेसनको छुट्टै खर्च लाग्ने हुँदा आर्थिक अभावमा उनीहरु उपचारविहीन भएका हुन्। ‘चिनेजानेका इष्टमित्रलाई सहयोगको अपिल गर्न थालेको छु,’ हुमबहादुरले भने।

10846402_625689687556808_4867235118278238460_n

Photos: Kshitz Sapkota & केशवशरण लामिछाने

कमेन्ट गर्नुहोस्
Share: