आर्यन र केकी फेरि उत्कृष्ट

Share:

काठमाण्डौ,  मंसिर १७ / अभिनेता आर्यन सिग्देल र अभिनेत्री पुन: उत्कृष्ट ठहरिएका छन् । बुधवार सम्पन्न ‘डी सिने फिल्म अवार्ड २०७१’मा आर्यन र केकीले फिल्म ‘महशुस’बाट उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड हात पारे ।

awards

आर्यन बैशाखीको साहारामा अवार्ड थाप्न पुगेका थिए भने केकी अष्ट्रेलियामा रहेकाले आफ्नो अवार्ड आँफैले लिन पाइनन् । आर्यन र केकीले गएको सोमबार मात्रै ‘सिजी कामना फिल्म अवार्ड’मा ‘महशुस’ फिल्मबाट नै उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड पाएका थिए ।

छायाँछबि क्रियशनले आयोजना गरेको उक्त अवार्ड समारोहमा ‘मोक्ष’ फिल्म उत्कृष्ट ठहरियो भने ‘नाईं नभन्नु ल २’बाट निर्देशक विकास आचार्यले उत्कृष्ट निर्देशकको अवार्ड पाए । आचार्य पनि अवार्ड थाप्न पुगेनन् । पिताको स्वर्गवास भएको बर्ष दिन पूरा नभएको भन्दै आचार्यले समारोहमा देखिएनन् ।

यता अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता अर्पण थापाले ‘मौन’ फिल्मबाट क्रिटिक्स अवार्ड पाउँदा अभिनेत्री प्रियंका कार्कीले भने ‘नाईं नभन्नु ल २’बाट सह-अभिनेत्रीको अवार्ड पाईन् । यस्तै सञ्चारकर्मी समेत रहेका श्याम अर्यालले ‘प्रोड्यूसर’ फिल्मबाट नव अभिनेताको अवार्ड पाए भने नव अभिनेत्रीको अवार्ड पूजा शर्माले ‘मधुमाश’ फिल्मबाट पाईन् । नव निर्देशकको अवार्ड ‘मोक्ष’बाट प्रवीन श्रेष्ठले पाए ।

अवार्ड कार्यक्रममा ‘फिल्मकर्मी रजत सम्मान’बाट अभिनेत्री मिथिला शर्मा र डिजाइनर सुन्दर श्रेष्ठलाई सम्मानित गरियो । ‘छायाँछवि पत्रकारिता पुरस्कार’ चलचित्र पत्रकार विदुर गिरीलाई नगद ६ हजार ६ सय ६६ सहित प्रदान गरियो ।

अवार्ड कार्यक्रममा प्रस्तुत गरिएका विभिन्न नृत्य, गायन र कमेडी पाटोले दर्शकलाई मनोरञ्जन दिएका थिए । फिल्म ‘जिन्दगी रक्स’का कलाकारको नृत्यबाट सुरु भएको अवार्ड कार्यक्रममा हाँस्यकलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको कमेडीले अझ रोचक बन्यो ।

फिल्म ‘अधकट्टी’का कलाकारहरु गौरव पहारी, रिस्ता बस्नेत, प्रदिप बाँस्तोला र अशिष्मा नकर्मीले फिल्मकै गीतमा नृत्य गरे । फिल्म ‘अलबिदा’को गीत गाउन स्टेजमा गायक ताराप्रकाश लिम्बु र गायिका रजिना रिमाल देखिए । नव गायिका मेलिना राईले ‘नाईं नभन्नु ल ३’को गीत गाईन् भने रजनी केसीले ‘प्रवास’को गीतमा डान्स गरिन् ।

यस्तै मंसिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लभ यू बाबा’का कलाकारहरु गजित बिष्ट, संगम बिष्ट, निष्मा घिमिरेले कोरियोग्राफर गम्भिर बिष्टको साथमा फिल्मका विभिन्न गीतमा नृत्य गरे । अवार्ड समारोहमा फिल्म ‘जन्मभूमि’को गीतमा पनि कलाकारले आकर्षक नृत्य गरेका थिए ।

Photo courtesy : Filmykhabar.com

कमेन्ट गर्नुहोस्
Share: