
काठमाडौं, मंसिर १८ । सरकारले ३८ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषदको विहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै, मन्त्रिपरिषदको बैठकले खाद्य संस्थानको अध्यक्षमा प्रकाशबहादुर केसी, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. विष्णु सापकोटा, पारबाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिडेटमा ताराबहादुर कार्की र नेसनल ट्रेडिङको अध्यक्षमा दीर्घराज श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले जानकारी दिए ।
इबोलाबाट डाक्टरको मृत्यु भए २५ लाख
यसैगरी विश्वभर आतंक मच्चाइरहेको इबोला भाइरसका कारण नेपाली चिकित्सकको मृत्यु भएमा सरकारले आश्रति परिवारलाई २५ लाख रुपैया राहत दिने भएको छ । मन्त्रिपरिषदको बैठकले इबोला रोगको उपचारमा संलग्न चिकित्सकको मृत्यु भएमा सो राहत रकम उपलव्ध गराउने निर्णय गरेको हो ।
नेपालमा हालसम्म इबोला भाइरस भेटिएको छैन । तर भारतसम्म आइपुगेकाले नेपालमा उच्च सतर्कता अपनाउदै चिकित्सकहरुलाई निगरानीमा राखिएको छ ।
सरकारले नेपालमा इबोला भित्रन नदिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र तराईका बिभिन्न नाकाहरुमा हेल्थ डेस्क स्थापना गरेको छ ।

