लेखनाथ २०, मंसिर
कास्कीको लेखनाथमा संचालित एघारौं लेखनाथ महोत्सवको तेश्रो दिन शनिबारमात्रै करिब २५ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा शनिबार १ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । अहिलेसम्म ५५ हजार दर्शकले महोत्सव अवलोकन गरिसकेको र एक करोड ५० लाख भन्दा बढीको आर्थिक कारोबार भएको आयोजक लेखनाथ उद्योग वाणिज्य संघका महासचिव बलराम ढकालले जानकारी दिए ।
विगतका महोत्सवहरुमा जस्तै यसबर्षको महोत्सवमा पनि दर्शकहरुको चाहाना अनुसारका विषय वस्तुहरुलाई समेटिएकाले एक पटक महोत्सवमा जानै पर्छ भन्दै महोत्सव स्थलमा दर्शकहरु आउने क्रम बढेको संघका अध्यक्ष बाबुराम गिरीले बताए । महोत्सवमा कृषि प्रदर्शनी अन्तरगतका सुन्तला, माछा, कफी, मह, ताजातरकारी लगायत फूडफेस्टिवल, अटो प्रदर्शनी, हस्तकला, मेशेनरी, फूड एण्ड वेभरेज, गार्मेन्ट र कर्पोरेट लगायतका गरी ३ सयभन्दा बढी स्टल राखिएको छ ।
महोत्सवमा शनिबार प्रिति आले र मिलन लामाको दोहारीमा क्षेत्रिय प्रशाशक दिनेश कुमार थपलिया र प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत नाचेर महोत्सवको सफलताका लागि शुभकामना समेत दिएका थिए ।
महोत्सवको चौंथो दिन गण्डकी ताराको अडिसन लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा हुने साथै विद्यालय स्तरिय चाईल्ड ट्यालेन्ट सो कार्यक्रम पनि संचालन हुने भएको छ ।
महोत्सवको चौथो दिन उपस्थित दर्शकहरुलाई थप मनोञ्जन दिनका लागि लोक दोहोरीका चर्चित हस्ती कृष्ण देवकोटा, प्रकाश सुपुथ, प्रदिप त्रिपाठी, संझना लामिछाने मगर, निशा पोख्रेल, तुलशा जि.सी. लगायतको दोहोरी हुने भएको छ भने पप तर्फ जुना प्रसाई र हेमन्त शर्माको प्रस्तूती रहने र हाश्य तर्फ नेपाल टेलिभिजनका चर्चित हास्य कलाकार डिस्टा साव र दमन रुपा खेतीको प्रस्तुती रहने उद्घोषक नेत्रपाणी बास्तोलले जानकारी दिए ।
महोत्सव लेखनाथको संस्कृती स्थानिय उत्पादन विकास र संमृद्धि भन्ने मुल नाराका साथ संचालित महोत्सव यहि मंरि २८ गतेसम्म चल्नेछ ।
