
लेखनाथ, २५ मंसिर । लेखनाथ महोत्सवको आठौं दिन विहिबार १ करोड ३५ लाखको कारोबार भएको छ । २५ हजार दर्शकले महोत्सव अवलोकन गरेको आयोजक लेखनाथ उद्योग बाणिज्य संघले जनाएको छ । महोत्सव सकिन चार दिन बाँकी रहँदा दर्शकहरुको चाप समेत बढ्दै गएकोछ । मंसिरमा धान खेती थन्काएर फुर्सदको समय हुने भएकाले पनि महोत्सवमा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको छ ।
बालबालिकाका लागि चाइल्ड ट्यालेन्ट सो, युवापुस्ताका लागि पप कन्र्सट तथा बृद्धाहरुका लागि दोहोरी र हाँस्यव्यङ्ग कार्यक्रम समावेश गरिएको छ । महोत्सवलाई कतिपयले आफन्त भेटघाटको स्थलको रुपमा समेत प्रयोग गरेका छन्। घरायसी प्रयोगका सम्पूर्ण सामाग्रीहरु महोत्सवमा पाईने भएकाले पनि ग्रामिण क्षेत्रका अधिकांस दर्शकले किनमेलका रुपमा सदुपयोग गरेका छन् ।
विभिन्न सेवा प्रदायक संस्थाहरुले दर्शकलाई परामर्श समेत दिने गरेका छन् । विभिन्न वित्तिय संस्थाहरुले महोत्सवस्थलबाटै ग्राहकका लागि लगानी योजना समेत ल्याएका छन् । खाता खोल्ने, कर्जा प्रवाहको परामर्श र साना व्यवसायी तथा उद्यमशिलताका लागि लगानीको अवसर समेत वित्तिय संस्थाले उपलब्ध गराएका छन् । सिद्धार्थ वैंकले मोवाइल एटिएम सेवा संचालन गरेको छ । दर्शकका लागि महोत्सव स्थलमै पैसा झिक्ने सुविधा उपलब्ध गराएको सिद्धार्थ बैंकले यस्तो प्रयोग पहिलो पटक गरेको हो । केवुल च्यानले निशुल्क जडान, इन्टरनेट सेवा प्रदायकले भारी छुटको व्यवस्था गरेका छन् ।
दर्शक बढाउन आयोजकले विभिन्न विधाका चर्चित कलाकारलाई दैनिकजसो स्टेजमा उतार्ने गरेका छन् । विहिबार पनि चर्चित गायिका कोमल ओली, प्रजापति पराजुली, रामजी खाँणले दर्शकलाई मनोरन्जन दिलाएका थिए । पप तर्फ माण्डवी त्रिपाठी, तिलक बम मल्ल, संञ्जिव सिंह राना र ऋतु कंडेलले युवा पुस्तालाई तताएका थिए ।
हाँस्य कलाकार शैलेन्द्र सिंखडाले राजनितिक दलका नेता, कलाकार र समाजका विषयमा तिखो प्रहसन र व्यङ्गय गरेका थिए । गायन विधाको गण्डकी ताराको उत्कृष्ट १० मा पर्न सफल सुविन सेन्चुरी, शक्ति कुमार श्रेष्ठ, आरती सापकोटा, राजेश गुरुङ्ग, प्रमोद गोतामे, दिपश पुन, दिपक वि.क, सुरज सुनार, निकल गुरुङ्ग र दिपक सुनारले आफ्नो प्रस्तुती राखेका थिए । उनिहरु मध्येबाट विहिबार २ जना बाहिरिने छन् भने उत्कृष्ट ६ को लागि प्रतिस्पर्धा हुने स्टेज व्यवस्थापन उपसमितिका सहसंयोजक छत्रधर आत्रेयले जानकारी दिए ।
विहिबार जनगायक जीवन शर्मा, कुलेन्द्र वि.क., चोलेन्द्र पौडेल, राजन कार्की, पार्वती जि.सि, निशा पोरखेल, सरस्वती लामिछानेको प्रस्तुती रहनेछ । यस्तै पप गायन तर्फ इन्दिरा जोशी, संजिव सिंह रानाले दर्शकलाई मनोरन्जन दिलाउने छन् । यस्तै गण्डकी ताराका उत्कृष्ट ८ मा परेकाले ६ जनाका लागि प्रतिस्पर्धा गर्नेछन् । महोत्सवमा विभिन्न बस्तु तथा सेवा, कृषि, फेन्सी, अटो मोवाइल, खाद्यान्न लगायतका ३ सय भन्दा बढी स्टल राखिएका छन् ।
