पोखरा ३ पुस । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण क्षेत्रभित्र प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । विमानस्थल निर्माणको लागि अधिग्रहण गर्न लागिएको ६२९ रोपनी जमीनको प्रचलित मूल्यमा नै मुअब्जा दिनुपर्नै माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दाले निर्माणाधीन विमानस्थलको गेटमा तालाबन्दी गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो ।
झडपमा संघर्ष समितिका अध्यक्ष बलराम कुँवर सहित १५ जना प्रदर्शनकारी र तीनजना प्रहरी घाईते भएका छन् । झडपमा घाईते भएका पोखरा मझेरीपाटनका बिष्णु खत्री, चाउथेका मीनाकुमारी गुरुङ्ग, भेडिफारमका गंगाप्रसाद श्रेष्ठ, मनकामनाटोलका बासुदेव बानियाँ, प्रहरी नायब निरीक्षक कृष्ण रानाभाट, प्रहरी जवान सम्झना ढकाल र मनकुमार दराईको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको कास्कीका प्रहरी उपरिक्षक बसन्त कुमार लामाले जानकारी दिए ।

प्रभावित क्षेत्र पोखरा उपमहानगरपालिकाको वडा नम्बर १४, १५ र १८ का बासिन्दाले अन्तरराष्ट्रिय विमानस्थल निर्माण जनसरोकार संघर्ष समिति नै गठन गरी आन्दोलनमा उत्रिएका छन् । सरकारले अधिग्रहण गर्नुपर्ने थप जग्गाको लागि प्रति रोपनी २० देखि ४० लाख मूअब्जा दिने तयारी गरेको छ भने जग्गाधनी सहित स्थानीय बासिन्दाले प्रचलित बजार मूल्य अनुसार नै मुअब्जा दिनुपर्ने माग गरेका छन् ।
अहिले निर्माणाधीन विमानस्थलको मूलगेटमा प्रहरी तैनाथ गरिएको छ भने आन्दोलनरत स्थानीय बासिन्दाको भीड पनि बढेको छ । अन्तरराष्ट्रिय विमानस्थल निर्माण जनसरोकार संघर्ष समितिको नेतृत्वमा मंसीर २६ गतेदेखि चरणबद्ध आन्दोलन गरिँदै आइएको छ ।
नेपाल सरकारले चीनको सीएएमसी कम्पनीलाई पोखरामा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणको जिम्मा दिने भएपछि विमानस्थल क्षेत्रमा अहिले माटो परीक्षण, नापजाँच लगायतका काम शुरु भएको छ ।
