काठमाडौं, पौष ५ । पाकिस्तानले आतंकवादी आरोपमा कैदमा रहेका दुईजनालाई फाँसी दिएको छ । फैसलावाद सहरमा मोहम्मद अकील भनिने डा. उस्मान तथा अरशद महमूदलाई शुक्रबार साँझ फाँसी दिइएको हो ।
पेशावरमा तालिबान आतंकवादीहरुले १३२ जना स्कुले विद्यार्थीसहित १४१ जनाको हत्या गरेपछि पाकिस्तानले स्थगनमा राखेको मुत्युदन्डलाई फेरि ब्युँताएको थियो ।
पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले मृत्युदन्ड कार्यान्वयनमा ल्याउन आदेश दिएलगत्तै यी दुई आतंकवादीलाई फाँसी दिइएको हो । पाकिस्तानमा शुक्रबार साँझका समयमा फाँसी दिएको यो पहिलो घटना भएको पनि बताइएको छ ।
पाकिस्तानको पन्जाब निवासी ३५ वर्षीय मोहम्मद उस्मान पाकिस्तान सेनाको पूर्वकर्मचारी रहेको पनि बताइएको छ । उनी श्रीलंकाली क्रिकेट टिममाथि आक्रमण गरेको तथा पाकिस्तानी सेनाको मुख्यालयमा आक्रमणमा दोषी ठहरिएका थिए ।
अरशद भने पूर्वराष्ट्रपति परवेज मुशर्रफ र इस्लामावादस्थित होटल मैरियटमा आक्रमणमा संलग्न थिए । (एजेन्सी)

