गुडिरहेको बसमा ११ हजार भोल्टको करेन्ट लागेपछि… चारको मृत्यु

Share:

सिन्धुपाल्चोक पुस ६ – गुडिरहेको बसमा ११ हजार भोल्ट बिजुली प्रवाह भइरहेको तारले छुँदा दुई महिलासहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ। काठमाडौंबाट सिन्धुपाल्चोकको पाङ्ताङ गाविसको कात्तिकेतर्फ हिँडेको बा २ ख २७०२ नम्बरको बसमा आइतबार दिउँसो बराम्ची गाविसको बालुवामा बिजुलीको हाइटेन्सन तारले छोएको थियो। करेन्ट लागेर ११ यात्रु घाइते भएका छन्।

छतको फलामे स्ट्यान्डमा तारले छुँदा बसमा करेन्ट प्रवाह भएको थियो। करेन्ट लागेर बतासे-३ की ७० वर्षीया मनमाया भुजेल, पाङ्ताङ-८ की ४५ वर्षीया सर्किनी तामाङ (दोङ), गोल्चे-४ का ४० वर्षीय रेखबहादुर स्याङ्बो र गुम्बा-६ का ३० वर्षीय कामी भनिने विकास तामाङको मृत्यु भएको प्रहरी निरीक्षक रूपक खड्काले बताए।

विकास र मनमाया जलबीरेबाट बसमा चढेका थिए। सर्किनी र रेखबहादुर काठमाडौंबाट आएका थिए। मृतकको ढाड, पाखुरा, खुट्टा, टाउकोलगायत भागमा पोलेको प्रत्यक्षदर्शी दीपक अर्यालले बताए। घाइते ११ जनालाई उपचारका लागि धुलिखेल र काठमाडौं लगिएको छ।

छतमा व्यापारिक प्रयोजनका भाँडाकुँडा र केही यात्रु रहेको प्रत्यक्षदर्शी बताउँछन्। तारले बस छोएपछि ढोकाबाट हामफाल्न खोज्नेलाई बढी करेन्ट लागेको यात्रु मधुकर श्रेष्ठलाई उद्धृत गर्दै बराम्ची गाविससचिव कुश्माखर सापकोटाले बताए।

तारले छोएपछि बस हल्लिएको जानकारी गुम्बा-६ का जितबहादुर तामाङले दिए। काठमाडौंदेखि बी साइडको ९ नम्बर सिटमा बसेर आएका जितबहादुरका अनुसार छतका मान्छे हामफाल्ने र बस हल्लिने एकैपटक भएपछि यात्रु चिच्याउन थालेका थिए।

‘बस एक्कासि काम्न थाल्यो, चालकले जति प्रयास गर्दा पनि अघि बढेन, त्यसपछि यात्रु हामफाल्न थाले’, जितबहादुरले टेलिफोनमा अन्नपूर्णसँग भने, ‘ढोकाबाट हामफाल्ने क्रममा फलामको डन्डी समाउने मान्छेको शरीरबाट आगो निस्केको देखियो।’

मृतकमध्ये दुईजनालाई करेन्टले हुत्याएर सडकमुनि पु:याएको र दुईजना बसमै टाँसिएको उनले बताए। ढोकाबाट झर्न लागेका यात्रुलाई करेन्टले हुत्याएको थियो। जितबहादुरलाई पनि करेन्टले हुत्याएर सडकदेखि तल पु:याएको थियो। ढोकाबाट निस्कन खोज्ने यात्रुलाई करेन्टले हुत्याउन थालेपछि स्टार्ट बन्द गरेर चालक भागेका थिए।

हाइटेन्सन लाइन टाँगिएका दुई पोलबीचको दूरी धेरै टाढा भए पनि झन्डै २० मिटर दुरीमा तार लत्रिएको बराम्ची गाविस कार्यालय सहायक रामचन्द्र घिमिरेले बताए।

AnnapurnaPost

कमेन्ट गर्नुहोस्
Share: