पाँचौ पोखरा महोत्सबको तयारी तिब्र

Share:

पोखरा ९ पुस | पुस अन्तिम साता पोखरामा हुने पोखरा महोत्सबको तयारी तिब्र पारिएको छ । आयोजक युनाईटेड क्लब पोखराले बुधवार पत्रकार सम्मेलन गरी महोत्सबको तयारी तिब्र पारिएको जानकारी दिएको हो ।

महोत्सव पुस ३० देखि माघ ८ गते सम्म अमरसिंह चौर खेल मैदानमा सञ्चालन हुनेछ । क्लबका अध्यक्ष हिमालय बख्रेलको सँयोजकत्वमा गठित मुल आयोजक समिति र विभिन्न ३१ वटा उपसमितिले तयारीलाई तिव्र पारेका छन् ।

स्वास्थ्य, शिक्षा र खेलकुदसँगै पोखराको पर्यटकीय विकासको लागि क्लबले महोत्सवको आयोजना गर्दै आएको जनाएको छ । यो पटक हुन लागेको महोत्सव पाँचौ सँस्करणको हो । पाँचौ सँस्करणको महोत्सवमा १२ करोड रुपैँयाको कारोबार हुने आयोजकको अनुमान छ । करिब ५५ लाख रुपैँया खर्च लाग्ने महोत्सवबाट ७४ लाख ६० हजार रुपैँया आम्दानी गर्ने आयोजकले लक्ष्य राखेका छन् ।

महोत्सवबाट वचत भएको रकममध्ये स्वास्थ्य, शिक्षा र खेलकुदको लागि ६० प्रतिशत रकम छुट्टाउने जानकारी दिएको छ । यस्तै पोखरामा चिडियाघर निर्माणका लागि २० प्रतिशत रकम छुट्टाईने महोत्सवका संयोजक हिमालय बख्रेलले जानकारी दिए । क्लबले पोखरामा चिडियाघर निर्माणका लागि स्थापनादेखि नै पहल गर्दै आएको छ ।

करिब डेढ लाख दर्शकले अवलोकन गर्ने अनुमान लगाईएको महोत्सवको विशेष आकर्षणमा हस्तकला, सूचना प्रविधि, व्यवसायिक संघसंस्था, दैनिक उपभोग्य वस्तु, पर्यटन प्रबद्र्धन सामाग्री, पर्यटकीय गन्तब्यको जानकारी दिने विभिन्न स्टल हरु रहने पत्रकार सम्मेलनमा जानकारी दिईयो । महोत्सव स्थलमा २ सय २० वटा स्टल रहनेछन् । त्यस्तै महोत्सवको अन्य आकर्षणमा राष्ट्रियस्तरको लोकदोहोरी प्रतियोगिता, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको साँस्कृतिक प्रस्तुती, बालउद्यान लगाएतका मनोरञ्जनात्मक कार्यक्रमहरु हुने आयोजकले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: