पोखरामा सम्झिईए ‘भूपी शेरचन’, मोमीलालाई सम्मान

Share:

रेम बिक / पोखरा, १० पुस । भूपी स्मिृती सम्मान पुरस्कारबाट कवि मोमिला सम्मानित भएकी छन् । भूपी शेरचनको ७९ औँ जन्म जयन्तीको अवसरमा थकाली सेवा समितिद्वारा आयोजित कार्यक्रममा मोमिला सम्मानित भएकी हुन् । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपती सरुभक्त श्रेष्ठले मोमिलालाई सम्मानपत्र सहित ५० हजार रुपैँया प्रदान गरे ।

Photo bhupi

सम्मान पत्र हस्तान्तरण गर्दै कुलपती सरुभक्तले भूपी शेरचनलाई राष्ट्रिय कविको रुपमा प्रचार गर्नुपर्ने बताए । भूपी जयन्तीमा पोखरेली साहित्यकारहरुको कम उपस्थितीप्रति ईगिंत गर्दै सरुभक्तले आगामी वर्षदेखि भूपी जयन्तीलाई विशेष गृहकार्य गरेर भव्य बनाउनुपर्ने बताए । उनले सम्मानित व्यक्तित्व मोमीलालाई बधाई दिँदै असहज परिस्थितीमा पनि नारी स्रष्टाको रुपमा अगाडि बढिरहेको महिला कविको रुपमा चित्रण गरे । उनले मोमीलालाई काव्यिक यात्रा अझै मजबुत बनाउँदै लैजानुपर्ने सुझाव दिए ।

कवि तीर्थ श्रेष्ठ, साहित्यकार उषा शेरचन, पोखरेली युवा साँस्कृतिक मञ्चका अध्यक्ष सुरेश रानाभाट, थकाली सेवा समाजका अध्यक्ष अम्बर तुलाचलन लगाएतले भूपीको बारेमा चर्चा गरेका थिए । उनका कविताहरुको प्रशंसा गर्दै पछिल्ला पुस्ताका कविहरुले भूपीबाट सिक्नुपर्ने धेरै कुराहरु रहेको बताएका थिए ।

यस्तै सम्मानित व्यक्तित्व मोमीलाले भूपी स्मिृती सम्मानबाट सम्मानित हुन पाउँदा आफुमा अझै बढि रंग भरिएको महशुस गरेको बताईन् । सरुभक्तको कविता र उपन्यासबाट निकै प्रभावित भएको बताउँदै उनकै हातबाट सम्मान पाउँदा निकै हर्षित महशुस गरेको बताईन् । उनले आगामी दिनमा आफ्नो काव्यिक यात्रालाई अगाडि बढाउन सम्मानले थप हौसला दिएको अनुभव सुनाईन् ।

कार्यक्रममा भूपी शेरचनको व्यक्तित्व र उनले लेखेका कविताहरुको बारेमा वक्ताहरुले चर्चा गरेका थिए । असफल गौतमले भूपी शेरचनको बारेमा गरेको चर्चासँगै शुरु भएको कार्यक्रममा उपस्थित कविहरुले भूपीको कविताहरु पनि सुनाएका थिए । सम्मानित व्यक्तित्व मोमिलाको व्यक्तित्वको बारेमा सरस्वती प्रतिक्षाले चर्चा गरेकी थिईन् ।

सम्मान कार्यक्रम पछि भएको कवि गोष्ठिमा पोखराका १३ जना कविहरुले कविता सुनाएका थिए । दुर्गाबहादुर शाह ‘बाबा’, सरस्वती प्रतिक्षा, मन क्षेत्री, सुरेश रानाभाट, शरण आँशु, सुर्य खड्का ‘बिखर्ची’, चुँडामणी बराल, सरस्वती श्रेष्ठ ‘सरु’, रमा प्राशर, विष्णु बाँस्तोला, अशोक शेरचन, बबि गौचन र सादर गुरुङले कविता वाचन गरेका थिए । केहि भूपी शेरचनसँग सम्बन्धित रहेर र बाँकि देशको परिस्थितीलाई व्यङ्ग हानिएको कविता सुनाएर उनीहरुले भूपीलाई सम्झिएका थिए ।

फोटो सौजन्य: शिव शर्मा 

कमेन्ट गर्नुहोस्
Share: