
१५ पुस, काठमाडौं । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) दूधको मूल्य बढाएको छ । संस्थानले बुधबारदेखि लागू हुने गरी लिटरमा ८ देखि १० रुपैयाँसम्म वृद्धि गरेको हो । संस्थानको मंगलबार बसको सञ्चालक समिति बैठकले निलो प्याकेटको स्ट्यान्डर्ड दूधको भाउ लिटरमा ८ रुपैयाँ बढाएर ६४ रुपैयाँ पुर्याएको छ ।
गाईको दूधमा लिटरको ८ रुपैयाँ बढाएर ७२ रुपैयाँ पुर्याएको संस्थानका महाप्रबन्धक गंगा तिमिल्सिनाले बताए । यसअघि गाई दूधको मूल्य ६४ रुपैयाँ थियो । फ्याटयूक्त दूध (हरियो प्याकेट) मा लिटरको १० रुपैयाँ बढाइएको छ । हालसम्म लिटरको ७० रुपैयाँ तिर्दै आएको फ्याटयूक्त दूधलाई बुधबारदेखि ८० रुपैयाँ तिर्नुपर्ने भएको छ ।
बढेको मूल्य अनुसार अब उपभोक्ताले निलो प्याकेटयुक्त दूधलार्इ प्रतिप्याकेट ३२ रूपैयाँ र हरियो प्याकेट युक्त दूधलार्इ प्रतिप्याकेट ४० रूपैयाँ तिर्नु पर्नेछ । किसानको चर्को दबाबलाई थेग्न नसकेर दूधको भाउ बढाएको महाप्रबन्धक लिमिल्सिनाले बताए । किसानले माग गरेभन्दा करिव ५० प्रतिशत कम मूल्य वृद्धि गरेको उनको भनाई थियो ।
किसानले दूधको मूल्य बढाउन आग्रह गर्दै विगतदेखि नै दबावमुलक कार्यक्रम गर्दै आएका थिए । किसानको दबाबपछि संस्थानमा भाउ समायोजन गर्नका लागि समिति नै गठन गरिएको थियो ।
किसानले लिटरमा २/३ रुपैयाँ बढाए मान्य नहुने भनी दबाव दिइरहेको बताउँदै तिमिल्सिनाले किसान र उपभोक्ताको हितलाई ध्यानमा राखेर मूल्य बढाएको दाबी गरे ।
