नयाँ बर्षको स्वागतार्थ पोखरामा भब्य तयारी, लेकसाईड आज राति १ बजेसम्म जाग्ने

Share:

गोकुल बानियाँ-
पोखरा १६ पुस ।
आज अंग्रेजी बर्ष सन् २०१४ को अन्तिम दिन । नयाँ बर्ष सन् २०१५ को स्वागतार्थ पोखरामा भब्य तयारी गरिएको छ । अंग्रेजी नयाँ बर्षको अबसरमा बिगत १५ बर्षदेखि हुदै आएको सडक महोत्सबको १६ औं संस्करण लेकसाईडमा जारी छ ।
पाँच दिने सडक महोत्सबको चौथो दिन आज राति १ बजेसम्म बिशेष कार्यक्रम हुने भएका छन् । मध्यरात १२ बजे सन् २०१४ को बिदाई र सन् २०१५ को स्वागतार्थ बिशेष कार्यक्रम हुने आयोजक रेवान पोखराले जनाएको छ ।
महोत्सब अधिभरकै सर्वाधिक दर्शक आज लेकसाईडमा ओर्लनेछन् । आज साँझ मात्र ५० हजार भन्दा बढी दर्शक भित्रने आयोजकको अनुमान छ । आज साझ हुने भिडभाडलाई ब्यबस्थित गर्न सोहि अनुसारको सुरक्षा प्रबन्ध मिलाईएको रेवान पोखराका अध्यक्ष गोपी बहादुर भट्टराईले बताए ।
सास्कृतिक कार्यक्रम हुने बसुन्धरा पार्क भित्र र बाहिरको भिड ब्यबस्थापनदेखि पार्किङ ब्यबस्थापन सहित सुरक्षा ब्यबस्था कडा पारिने आयोजकले जनाएको छ । महोत्सबको लागि ११ बजेसम्म रात्रीबस सञ्चालन भैरहेकोमा आज भने राति १ बजेसम्म रात्री बस चल्नेछ ।
अघिल्लो बर्षभन्दा यो पटक लेकसाईडमा भित्री सडकहरुपनि फराकिलो भएकाले पार्किङमा कुनै समस्या नहुने आयोजकको दाबि छ । दर्शकको भिडको कारण महोत्सब सञ्चालन भएको लेकसाईडको तीन किलोमिटर सडक क्षेत्र र बसुन्धरा पार्क पनि आज साँझ साघुरो हुनेछ ।
महोत्सवमा आज साँझ नविन के भट्टराई र प्रमोद खरेलको बिशेष प्रस्तुती रहनेछ भने रविन एण्ड न्यू रेबुलुसन ब्याण्ड, अभया एण्ड स्ट्रिट ब्याण्ड लगायतको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ ।
नयाँ बर्षको स्वागतार्थ यसअघिका महोत्सवमा आतसवाजी हुँदै आएकाले यो बर्ष पनि आयोजकले आतासवाजी गर्ने तयारी गरेको छ । महोत्सवका प्रचार संयोजक लक्ष्मण बरालका अनुसार राती महोत्सवस्थलमा आतासवाजी गर्ने तयारी छ ।
तर आतासवाजी गर्ने रेवानको तयारीको नागरिक समाजले भने विरोध गरेको छ । मध्यरातमा आतसवाजी गर्दा नजिकै रहेको फेवातालको जलचर र रानीवन सहित आसपास रहेका जंगली जनावरलाई असर पर्ने भन्दै नागरिक समाजले आतासवाजीको विरोध गरेको हो । यस बिषयमा अदालतमै मुद्धा चलिरहेको र आज मात्रै मुद्धाको फैसला हुने नागरिक समाज पोखराका अध्यक्ष रामबहादुर पौडेलले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: