
बुटवल, पौष १७ । बुटवलमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
प्रतियोगिताको विहीबार भएको खेलमा विजयी हुँदै समूह ‘ए’बाट सशस्त्र प्रहरीको एपीएफ क्लब र मध्यमान्चल सेमिफाइलनमा प्रवेश गरेका छन् । एपीएफले सुदूरपश्चिम तथा मध्यमान्चलले पूर्वान्चललाई सोझो सेटमा हराए ।
यस्तै, विहीबारै समूह ‘बी’बाट नेपाल पुलिस क्लब र पश्चिमान्चलले पनि सेमिफाइनल यात्रा तय गरेका छन् । पुलिसले पश्चिमान्चललाई ३–० को सोझो सेटमै पराजित गर्यो ।
समूह ‘ए’बाट एपीएफ र समूह ‘बी’बाट नेपाल पुलिस अपराजित रहँदै समूह विजेता बने । एक–एक खेल हारेका पश्चिमान्चल र मध्यमान्चल ४ अंकसहित समूह उपविजेता बनेका हुन् ।
प्रतियोगिताको शुक्रबार हुने सेमिफाइनलमा एपीएफ र पश्चिमान्चल तथा नेपाल पुलिस र मध्यमान्चलबीच खेल हुनेछ । प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।

