
काठमाडौं, पौष २१ । पाकिस्तानको उत्तर पश्चिम आदिवासी औरकजईमा भलिबल खेल भइरहेको समयमा गराइएको विस्फोटमा परी ५ जना मारिएका छन् । विस्फोटमा अरु सात जना घाइते भएका छन् । घटना कसले गराएको भन्ने पुष्टि भएको छैन ।

सोही क्षेत्रमा सन् २०१० मा भलिबल खेलकै क्रममा आतंकवादी आक्रमण हुँदा एक सयभन्दा बढी व्यक्ति मारिएका थिए ।
उता, नाइजेरियामाआतंकवादी संगठन बोको हरामले एक सहर र अन्तर्राष्ट्रिय सेनाको एक सैन्य केन्द्र नै कब्जा गरेको छ । बोको हरामको आक्रमणका कारण आतंकवादविरुद्ध लड्न बनाइएको बागा सहरस्थित केन्द्र सैनिकले छाडेका हुन् ।
बागा छाडेर छिमेकी देश चाड पुगेकाहरुले बोको हरामको आक्रमणमा थुप्रै व्यक्ति मारिएको तथा कयौं भवनहरु ध्वस्त बनाइएको बताएका छन् ।
बोर्नोको उत्तरी सीमास्थित सहर बागा विद्रोहीको नियन्त्रणमा गएपछि सरकारलाई ठूलो झट्का लागेको छ । सन् २०१३ मा पनि बागामा ठूलो संख्यामा सैनिकको हत्या गरिएको थियो । (एजेन्सी)
