
विराटनगर, पौष २७ । नेपालमा पहिलोपटक गाडी उत्पादन गर्दै आएको हुलास मोटर्स कम्पनीले आफ्नो उत्पादन बन्द गरेको छ । विराटनगर १७ मा रहेको मोटर्स कम्पनीले आइतबार (आज)देखि औपचारिक रुपमा उत्पादन बन्द गरेको घोषण गरेको हो ।
हुलास मोटर्स प्रालिका प्रबन्ध सन्चालक सुरेन्द्र गोल्छाले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी ‘हुलास मु्स्ताङ भिटु’ र ‘हुलास म्याक्स’ गाडीको उत्पादन बन्द गरिएको जानकारी दिए । उनले सरकारको नीतिका कारण मोटर्सको उत्पादन बन्द गर्न बाध्य भएको समेत बताए ।
२०५४ सालदेखि मोटर उत्पादन गर्दै आएको हुलासले ‘शेर्पा मुस्ताङ भिटो’ र ‘मुस्ताङ म्याक्स’ गाडी उत्पादन गर्दै आएको थियो ।
पत्रकार सम्मेलनमा गोल्छाले ‘युरो थ्री’ मापदन्डमा जान सरकारसँग थप एक वर्ष समय मागेको भएपनि सरकारले अनुमति नदिएपछि उत्पादन बन्द गर्नुको विकल्प नभएको बताए ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुस्ताङ गाडी चढेपछि यसको चर्चा बढेको थियो ।

