
पोखरा, ९ माघ | पोखराका चारवटा होटल विदेशी पर्यटकको रोजाईमा पर्ने सूचीको उत्कृष्ट दशमा परेका छन् । विश्वभरका होटल र पर्यटकीय गन्तव्यबारे जानकारी दिने साईट ‘ट्रिप एडभाइजर’ले यस्तो सूची निकालेको हो ।
पर्यटकको रोजाईमा पर्ने नेपालका उत्कृष्ट १० होटलमध्ये पोखराको टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा, अतिथि रिसोर्ट, वाटरफ्रन्ट रिसोर्ट र द लेकसाइड रिट्रिट रहेका छन् । वेभसाईटले वर्षेनी गर्दै आएको ‘ट्राभलर्स च्वाईस अवार्ड’ अन्तरगत यी होटलहरु उत्कृष्ट १० भित्र परेका हुन् ।
बाँकी ६ वटा उत्कृष्ट होटलहरु भने काठमाण्डौका रहेका छन् । साइटका अनुुसार काठमाडौंको साम्बलिङ बुटिक होटल, पहिलो नम्बरमा परेको छ । त्यस्तै काठमाडौंकै द्वारिकाज होटल द्वितीय, होटल टिवेट ईन्टरनेशनल तृतिय स्थानमा छ । पोखराको टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा ले चौथो भएको छ । काठमाडौंकै होटल साम्बला पाँचौ, गोकर्ण फरेष्ट रिसोर्ट छैठौ, हायत रिजेन्सी सातौ स्थानमा परेको छ । पोखराका अतिथि रिसोर्ट एण्ड स्पा आठौ, वाटरफ्रन्ट रिसोर्ट होटल नवौं र द लेकसाइड रिट्रिट दश नम्बरमा परेका छन् ।
पर्यटकले दिएको सुझाव र सल्लाहको आधारमा उत्कृष्ट हुन पाँउदा पर्यटन व्यवसायी खुसी छन् । उनीहरुले पोखराको होटल पनि उत्कृष्ट पर्दा यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । नयाँ व्यवस्थापनले सम्हालेको छोटो समयमै यो सूँचीको १० नम्बरमा परेकोमा खुसी लागेको द लेकसाइड रिट्रिटका रेसिडेन्स म्यानेजर तेजेन्द्र प्रसाईले बताए ।
‘अघिल्लो वर्ष मात्र हामीले संचालन गर्न थालेका थियौ । यो वर्ष नै उत्कृष्ट १० नम्बरमा परेका छौ । यो खुसीको कुरा हो’ उनले भने,‘पर्यटकले उचित सेवा पाएका रहेछन् भन्ने यो सूँचीबाट पुष्टि भएको छ ।’ ३६ कोठाको यो होटल अघिल्लो वर्षसम्म बेसक्याम्प रिसोर्टको नाममा संचालन भईरहेको रिसोर्ट अहिले लेकसाइड रिट्रिटको नाममा संचालन भईरहेको छ ।
दुई वर्षअघि स्थापना भएको अतिथि रिसोर्ट एण्ड स्पा अघिल्लो वर्ष पनि उत्कृष्ट भित्र परेको थियो । होटल पूर्ण रुपमा संचालन भएको लामो समय नभईसकेको अवस्थामा पनि उत्कृष्टता हासिल गरेकोमा खुसी लागेको अतिथि रिसोर्ट एण्ड स्पाका प्रवन्ध निर्देशक भरतराज शर्माले बताए ।
अतिथि ५१ कोठाको रिसोर्ट हो । यसमा करिब २० करोड रुपैयाँ लगानी गरिएको संचालकले बताएका छन् ।
उत्कृष्टमा परेको पोखराको अर्को टेम्पल ट्रि रिसोर्ट एण्ड स्पाका संचालक बसन्त गौतमले सेवामा गुणस्तरीयता कायम गर्न सकेकोले नै उत्कृष्टमा पर्न सकेको बताए । साढे ३ वर्षदेखि संचालनमा रहेको यो रिसोर्ट विगत तीनवर्षदेखि टप टेनमा परेको उनले बताए । होटलमा ५० वटा कोठा छन् । अब बिस्तार गरेर ७० कोठा पु¥याउने गौतमले बताए ।
पोखराको अर्को वाटरफ्रन्ट रिसोर्ट यो पटक पनि उत्कृष्टभित्र परेको छ । यो रिसोर्ट अघिल्लो वर्ष पनि उत्कृष्टमै परेको थियो । होटलका आवासिय प्रवन्धक सन्तोष कार्कीले संचालनमा आएको दुइवर्षसम्म उत्कृष्टता ओगट्न सफल भएको बताए । वाटरफ्रन्ट रिसोर्ट २०१२ जनवरीमा संचालनमा आएको हो । यसमा ५८ कोठा छन् ।

